स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा मकवानपुर थाहा नगरपालिका-१० की बालिका मृत्यु प्रकरणमा कसैले गल्ती गरेको भए दोषीमाथि कारबाही हुने दाबी गरेका छन् । इजिप्टको राजधानी कायरोमा आयोजित जनसंख्या स्वास्थ्य तथा विकास सम्मेलनमा भाग लिएर स्वदेश फर्किएका बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै केही दिनअघि कान्ति बाल अस्पतालमा पाँच वर्षीया बालिका रेजिशा गोपालीको समयमा उपचार नपाउँदा मृत्यु भएको घटनाका दोषीमाथि कारबाही हुने बताए।

‘उक्त घटना भएको समय म बाहिर भए पनि चासोका साथ हेरेको छु। मैले इजिप्टबाटै सचिवज्यूलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको थिएँ। जानाजान केही गल्ती भएको छ भने कारबाही हुन्छ,’ बस्नेतले भने । मकवानपुरकी पाँच वर्षीया बालिका रेजिशाको कान्ति बाल अस्पतालमा इमर्जेन्सीको टिकट लिन दुई घन्टा ढिला हुँदा मृत्यु भएको थियो । इमर्जेन्सीमै रहेकी उनको उपचारमा चिकित्सक र नर्सले लापरवाही गरेका थिए ।

पछि टिकट काट्छु पहिले उपचार गरिदिन भनेर रेजिशाका हजुरबुबाले अनुनय विनय गर्दा पनि चिकित्सक र नर्सले उपचार गर्न मानेका थिएनन् । जसकारण रेजिशा अस्पतालमै प्राणत्याग गर्न विवश भएकी थिइन् । गोपालीको मृत्यूको सवालमा मकवानपुरका प्रतिनीधिसभा सदस्य महेशकुमार बर्तौलाले संसदमै आवाज उठाएका थिए । बर्तौला एमालेबाट विजयी सांसद हुन् ।

पालिका प्रेस
थप जानकारी