

थाहा नगरपालिका वडा नम्बर २ पालुङ शहरमा ‘यन्हा पुन्ह’ अर्थात इन्द्रजात्राको तयारी थालिएको छ । यहि १२ असोजमा परेको इन्द्रजात्रा मनाउनको लागि तयारी तिब्र पारिएको स्थानीय रोमन श्रेष्ठले जानकारी दिए ।
हरेका वर्ष काठमाण्डौमा मनाइने इन्द्रजात्राको अवसरमा थाहानगरको साविक पालुङ गाउँ विकास समिति वडा नम्बर ६ पालुङ शहरका नेवारी समुदायले ‘यन्हा पुन्ह’ को रुपमा मनाउने गर्दछन् । यस अवसरमा पालुङ शहरमा इन्द्रजात्रा समेत मनाइन्छ । थाहानगरको साँस्कृतिक शहर पालुङमा मनाइने इन्द्रजात्रा परापूर्वकालबाटै मनाउँदै आएको भएपनि यसको प्रचारप्रसार हुन सकेको छैन ।
पालुङ शहरको डबलीमा मनाइने यो जात्रा जनै पूर्णिमादेखि हालसम्म मनाइदै आएको हिलेजात्रा, अन्य नेवारी नाच तथा पुजाको समाप्ती तथा साङ्गेका रुपमा इन्द्रजात्रा मनाउने चलन छ । इन्द्रजात्राको अवसरमा लाखे, ब्रम्हा, विष्णु, ख्याक, कवै, पाँचों देवी (गणेश, कुमारी, इन्द्रायणी, बज्रवाराही, कालाभैरव) को नाच प्रदर्शनसहित बली दिने परम्परा रहेको स्थानीय प्रमोद श्रेष्ठले जानकारी दिए ।
मेला अवलोकनका लागि इन्द्रजात्राका गुरु अष्टमान श्रेष्ठले सम्पूर्णलाई निम्तो गरेका छन् । इन्द्रजात्रा सास्कृतिक पर्व भएकोले यसको संरक्षण र प्रचार दुवैमा सहयोग गरिदिन श्रेष्ठले अपील गरे ।
निम्तोपत्रः
प्रतिक्रिया दिनुहोस्