मकवानपुरको थाहा नगरपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम १२ असोजमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको आयोजनामा पालुङ जेसिजको सभाहलमा कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर विष्टले स्थानीय सरकारको सुशासन प्रवद्र्धन गर्न यस प्रकारको अन्तरक्रिया कार्यक्रमले विशेष सहयोग पुग्ने बताए । नगर प्रमुख विष्टले सार्वजनिक पद धारण गरेका व्यक्तिहरू राष्ट्रप्रति जिम्मेवार भई नैतिक दायित्व बहन गर्दै सदैव सुशासन, पारदर्शीका साथै नियमको परिधिमा रही काम गर्नुपर्ने उल्लेख गरे ।

भ्रष्टाचारले मानिसको इज्जत, मान, प्रतिष्ठा गुम्नुको साथै राष्ट्रको लगानी दुरुपयोग हुने भएकोले सजग हुनुपर्ने उनले बताए । भ्रष्टाचार रोक्न सम्पूर्ण नागरिकहरू जिम्मेवार भएर आ–आफ्नो ठाउँबाट लागि पर्नुपर्ने नगर प्रमुख विष्टको भनाइ थियो । कार्यक्रममा सहभागिताहरूले आ–आफ्नो जिज्ञासा र गुनासो राख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुझाव समेत दिएका थिए । साथै सहभागीबाट उठेका विभिन्न प्रश्नहरूको जवाफ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका प्रमुख नरहरी घिमिरेले दिएका थिए ।

अन्तरक्रिया कार्यक्रममा कार्यालयका उपसचिव गोविन्द प्रसाद गौतम र प्रमुख नरहरी घिमिरेले प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा भ्रष्टाचारको अवधारणा, भ्रष्टाचारको कारण, भ्रष्टाचार कसूर ठहरिदा हुने सजाय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्य गर्ने शैली, भ्रष्टाचार सम्बन्धी विश्व र नेपालको अवस्था, भ्रष्टाचारको प्रवृत्ति, भ्रष्टचार सम्बन्धी भ्रम र वास्तविकता लगायतका विषयमा छलफल चलाइएको थियो भने स्थानीय तहसंग सम्बन्धित उजुरीको प्रवृत्ति र सुशासनको प्रवर्द्धनमा स्थानिय तहको भुमिका बिषयक कार्यपत्र प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली, थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, नगरका १२ वटै वडाका वडा अध्यक्षहरु, गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनीधिहरु, निर्माण व्यावसायी, कार्यपालिका सदस्यहरु नगरपालिका अन्तरगत विभिन्न शाखाका प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापकहरु, पालुङ क्याम्पसका प्रमुख, बित्तीय संस्थाका प्रतिनिधि लगायत कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

पालिका प्रेस
थप जानकारी