मकवानपुर थाहा नगरपालिका क्षेत्रको फोटो ललितपुरको पाटनमा प्रदर्शनी गरिएको छ । थाहानगर लगायतका विभिन्न जिल्ला तथा पालिकाका फोटो पत्रकारहरुले खिचेको फोटो प्रदर्शनी गरिएको हो ।

राष्ट्रिय फोटो पत्रकार समूह र एजिङ नेपालको आयोजनामा प्रदर्शन गरिएको ज्येष्ठ नागरिकको तस्वीर अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा प्रदर्शन गरिएको हो । प्रदर्शनीमा हिमाल, पहाड र तराईका ज्येष्ठ नागरिकहरुको तस्वीरहरु राखिएको थियो । फोटोग्राफर गणेश बिष्टले संयोजन गरेको कार्यक्रममा ४० जना फोटो ग्राफरले खिचेको ६२ वटा फोटो प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनीको १० हजारले अवलोकन गरेको आयोजक एजिङ नेपालले जनाएको छ ।

 

प्रदर्शनीका क्रममा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकको सम्मानको सन्दर्भमा जाने बुझे जति काम गरिरहेको बताउँदै यस्तो कामलाई प्रभावकारी बनाउन सहकार्यकासाथ अगाडि बढ्न तयार रहेको बताए । उनले राष्ट्रिय फोटो पत्रकार समूह र एजिङ नेपाललाई आगामी वर्ष यस्तै खालको काम गर्दा महानगरसँग सहकार्य गर्न आग्रह पनि गरे ।

उनले भने, ‘ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकका लागि जाने बुझे जतिकाम गरिरहेको छ । अझै पुगेको छैन । त्यसको लागि तपाईहरुसँग केही उपाय छ भने लिएर आउनुस्, त्यसलाई कार्यान्वयन गर्ने छौं ।’ कार्यक्रममा एजिङ नेपालका अध्यक्ष कृष्ण मुरारी गौतम (चट्याङ माष्टर) एजिङ नेपालमा निर्देशक प्रकाश गौतम, राष्ट्रिय फोटो पत्रकार समुहका अध्यक्ष प्रदिपराज वन्त, कार्यवाहक महासचिव घनश्याम श्रेष्ठ लगायत संस्थाका पदाधिकारीहरु उपस्थित थिए ।

कार्यक्रममा जेष्ठ नागरिकको दैनिकी, मिहिनेत, सफलता, पारिवारिक खुशी, संघर्ष तथा सफलता झल्कने तस्वीर प्रदर्शनी गरिने छ । प्रदर्शनीमा राखिने तस्वीरहरुले नयाँ पुस्तामा उत्साह जगाउनको साथै, जेष्ठ नागरिकहरुमा नैरास्यता तथा दुःखीपन हटउन मद्दत गर्ने अपेक्षा गरिएको छ । राष्ट्रिय फोटो पत्रकार समूहले यसअघि विभिन्न स्थानहरुमा बालबालिकाको फोटो तथा पर्यटन प्रवर्द्धनात्मक फोटोहरु प्रदर्शनी आयोजना गर्दै आएको छ ।

पालिका प्रेस
थप जानकारी