जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक विज्ञत्तिमार्फत राति ९ बजेपछि देउसी–भैलोलगायतका सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम नगर्न अनुरोध गरेको हो । प्रशासनले चाडपर्वको समयमा आफूले खुशीयाली मनाउँदा/मनोरञ्जन गर्दा अन्य व्यक्ति, छिमेकी, टोल, समुदाय र सार्वजनिक जीवनमा असर नपर्ने गरी मनाउने आग्रह गरेको छ ।

पटाका, भुईचम्पा, आतिशवाजी जस्ता प्रज्वलनशील पदार्थको प्रयोगबाट सर्वसाधारणको स्वास्थ्य, सुरक्षा लगायत समग्र जनजीवनमा प्रतिकूल असर पर्ने हुँदा त्यस्ता पदार्थको भण्डारण, विक्री वितरण, ओसार पसार तथा प्रयोग नगर्ने, नगराउने प्रशासनले विज्ञत्तिमार्फत अनुरोध गरेको छ ।

जुवातास खेल्ने खेलाउने जस्ता कानूनले निषेध गरेका क्रियाकलापहरू नगर्न, सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला तथा झैझगडा नगर्न र समाजमा अशान्ति सिर्जना गर्ने क्रियाकलापहरू नगर्ने विज्ञत्तिमा भनिएको छ ।

जिल्लाभित्र शान्ति सुरक्षालाई प्रभावकारी तुल्याई शान्तिपूर्ण एवं सौहार्दपूर्ण वातावरणमा चाडपर्व मनाउने वातावरण कायम गर्न माथि उल्लेखित महत्वपूर्ण कुराहरुलाई व्यवहारमा उतार्न मकवानपुरवासीलाई मकवानपुरका सहायक जिल्ला प्रमुख अधिकारी झरेन्द्र प्रसाद चापागाईंले आग्रह गरेका छन् ।

पालिका प्रेस
थप जानकारी