मुस्ताङ्गी भाषाको पहिलो नेपाली चलचित्र ‘आमा खाण्डो’ को प्रथम थाहा फिल्मफेस्टिभलमा प्रदर्शन हुने भएको छ । १३ मंसिरमा पालुङ जेसिज सभाहलमा आमा खाण्डोका कलाकार र दर्शकहरु एकै ठाउँमा हुनेछन् । ९ मंसिरबाट शुरु भएको थाहा फिल्म फेस्टिबलको स्थानीयहरुले अवलोकन गरिरहेका छन् ।

मुस्ताङबाट जाडो छल्न शहरतर्फ हिंडेकी एक आमाको संघर्ष कथा फिल्मको मुख्य विषयवस्तु हो। उनी आफ्ना छोरालाई शहर राम्रो हेरचाह गर्ने व्यक्तिको जिम्मा लगाउन चाहन्छिन्। आमा खाण्डोको नेपाली अर्थ परी आमा हो।

ढोन्डुप छिरिङको लेखन र निर्देशनमा बनेको फिल्मको अधिकांश दृश्य उपल्लो र तल्लो मुस्ताङमा खिचिएको छ । प्रवीण टक्की कार्की निर्माता रहेको फिल्मलाई अलि रासिद र मनोजकुमार पन्तले खिचेका हुन् । फिल्ममा पेमा डोल्कर, कर्णवीर बलिया, कार्चुङ, न्यिमा डोल्मा, छिरिङ ढोन्डुप, लाक्पा वाङदी, सम्तु गुरुङ भुम्चुङलगायतले अभिनय गरेका छन् ।

यसैबीच १३ मंसिरमै अन्य लघु चलचित्रहरु पनि प्रदर्शनी गर्ने कार्यक्रम रहेको संयोजक प्रमोदकृष्ण जोशीले जानकारी दिए । उनले निःशुल्क हेर्न पाइने फिल्म फेस्टिभलमा सहभागी हुन अनुरोध गरेका छन् ।

पालिका प्रेस
थप जानकारी