सम्मानित हुने फोटोमा: बायाँ रायमाझी र दायाँ दोङ

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले आफ्नो वार्षिक समिक्षाको अवसरमा थाहा नगरपालिकाका युवा समाजसेवी यादव जंग रायमाझीलाई हेटौंडामा सम्मान गरेको छ । जिल्ला समन्वय समितिले विभिन्न विधाका उत्कृष्ट व्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा समाजसेवी विधामा थाहाका रायमाझीलाई १८ मंसिरमा सम्मान गरेको हो ।
समाजसेवाको क्षेत्रमा उत्कृष्ट योगदानको कदर गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा बागमती प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिंह लामाले रायमाझीलाई सम्मान गरेका हुन् । त्यस्तै खेलकुद क्षेत्रमा उत्कृष्ट योगदान गर्ने थाहा नगरपालिकाकै युवा तथा खेलकुदकर्मी मानसिं दोङलाई पनि जिल्ला समन्वय समितिले सम्मान गरेको छ ।

रायमाझी र दोङ दुवै जनालाई जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख ललित घलान तथा जिल्ला समन्वय अधिकारी सुर्य प्रसाद चापागाईंले दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा सहकारी विधा अन्तर्गत श्रमिक साना किसान कृषि सहकारी संस्था लिमिटेड, मकवानपुरगढी र जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेडलाई सम्मान गरिएको छ । यस्तै, गैह्र सरकारी संस्थातर्फ शान्ति फाउण्डेशन मकवानपुर र ग्रामिण जीवनस्तर सुधार मञ्च मकवानपुरलाई सम्मान गरिएको छ ।
यसैगरि, कर्मचारीतर्फ जिल्ला समन्वय समिति मकवानपुरमा खरिदार अमृता खनाल र कैलाश गाउँपालिका अन्तर्गत कार्यरत सिनियर अनमी आशाकुमारी गुरुङ झा, बकैया गाउँपालिकाका सहायक पाँचौं तहकी कर्मचारी मनिषा पराजुली सम्मानित भएकी छन् । यस्तै, सामुदायिक वनतर्फ सिमपानी देउकोट सामुदायिक वन उपभोक्ता समूह मनहरि सम्मानित भएको छ भने शिक्षातर्फ इन्द्रसरोवर गाउँपालिकाका चन्द्र आधारभूत विद्यालय सम्मानित भएको छ ।साना महिला उद्यमीतर्फ गीता मैनाली सम्मानित भएकी छन् ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको सभाध्यक्षता तथा बामगती प्रदेश आर्थिक तथा योजना मन्त्री बहादुर सिं लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा आर्थिक वर्ष २०७९÷०८० को वार्षिक समीक्षा गरिएको थियो । समीक्षा बैठकमा मकवानपुरका १० वटै स्थानीय तहले वार्षिक कार्यक्रमको समष्टिरुपमा समेटिएको कार्यपत्र प्रस्तुत गरिएको थियो । स्थानीय तहको साझा समस्या नदिजन्य पदार्थ सम्बन्धी संघीय र प्रदेश कानुन र स्थानीय तहमा निर्माण भएको कानुनबीच भएको कार्यान्वयनको पाटोले गर्दा समस्या उत्पन्न भएको बताएका थिए । संघीय कानुनमा टेकेर तयार भएका नदीजन्य पदार्थ उत्खनन्, बिक्री वितरणका विषयका कानुनहरु प्रदेश सरकारले पछि तयार पारेका कानुनले समस्या उत्पन्न भएको स्थानीय सरकारका प्रमुखहरुले बताएका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, प्रेमबहादुर पुलामीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्लाका पालिका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर सेडाई, पालिकाका उपाध्यक्षहरु, विभिन्न कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, राजनितिक दलका प्रतिनिधिहरु विभिन्न सामाजिक संघसंस्थाका प्रमुखहरु लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमलाई जिसस उपप्रमुख सानुकाजी लुईटेलले कार्यक्रमको विषयवस्तु बारे प्रष्ट पारेका थिए ।