आर्थिक पारदर्शिताको गुनासो आएको भन्दै इटहरी उपमहानगरपालिकाले टोल विकास संस्थाहरूलाई बचत तथा ऋणसम्बन्धी कारोबार गर्न रोक लगाएको छ । सामाजिक कार्य गर्ने टोल विकास संस्थाहरू बचत तथा ऋणको कारोबार गर्दै सहकारी बन्न खोजेको भन्दै उपमहानगरले आर्थिक कारोबार गर्न प्रतिबन्ध लगाएको हो । इटहरीका २० वटै वडाका सबै टोल विकास संस्थाहरूले बचत तथा ऋणको कारोबार गर्दै आएका थिए ।

उपमहानगरले सोमबार वडा कार्यालयमार्फत सम्पूर्ण टोल विकास संस्थाहरूलाई परिपत्र जारी गर्दै बचत तथा ऋणसम्बन्धी कुनै पनि आर्थिक कारोबार नगर्न, नगराउन भनेको प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले बताए । १३ औं नगरसभाबाट टोल विकाससँग सम्बन्धित नयाँ नीति तथा कार्यक्रम अवलम्बन गरिएकोले बचत तथा ऋणको कारोबार गर्दै आएका टोल विकास संस्थाहरूलाई अबउप्रान्त कारोबार नगर्न/नगराउन आग्रह गरेको मेहताले जनाए ।

प्रमुख प्रशासकीय अधिकृत मेहताले भने, ‘टोल विकास संस्थालाई आर्थिक कारोबार गर्ने अधिकार छैन, वित्तीय कारोबार गर्ने भए पनि कहीं दर्ता पनि हुँदैनन्, भोलि सहकारीजस्तो आर्थिक समस्या आउन सक्ने भएकाले समयमै व्यवस्थापन गरिएको हो ।’ इटहरीमा टोल विकास संस्था धेरै भएको र सबैले आर्थिक कारोबार गर्ने हुँदा नियन्त्रणभन्दा बाहिर जाने अवस्था आएपछि यो नीति अवलम्बन गरिएको मेहताले प्रस्ट पारे ।

अब टोल विकास संस्थालाई सामाजिक कार्यमा क्रियाशील गराइने उनले बताए । हाल इटहरी उपमहानगरका २० वटा वडामा टोल विकास संस्थाहरू सञ्चालनमा रहेका छन् । ती संस्थाहरूले मासिक रूपमा सयदेखि पाँच सय रुपैयाँसम्म बचत संकलन गर्दै आएका छन् । संकलित रकमबाट टोलका सदस्यहरूलाई न्यूनतम ब्याजदरमा ऋणमा लगानी गर्ने गरेका छन् । व्याजबाट आएको रकम संस्थाको विकास तथा सामाजिक कार्यमा खर्च गर्ने गरेका छन् ।

टोल विकास संस्थाहरूले गरेको आर्थिक कारोबारअनुसार बचत रकमहरू आगामी २०८० चैत मसान्तसम्ममा फिर्ता गर्ने/गराउने उपमहानगरले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी