हेटौंडा उपमहानगरपालिका–१ को बिकट क्षेत्र नकौलीमा स्वास्थ्य चौकी उद्घाटन गरिएको छ । सामान्य सिटामोल किन्न समेत लामो समय खर्चेर हेटौंडा बजारसम्म धाउनु पर्ने बाध्यतामा रहेको नकौलीबासी गाउँमै स्वास्थ्य चौकी उद्घाटन भएपछि खुशी भएका छन् । हेटौंडा उपमहानगरपालिकाले बिकट क्षेत्रका बासिन्दालाई लक्षित गरी स्वास्थ्य चौकी निर्माण गरेको जनाएको छ ।

स्वास्थ्य चौंकीको उद्घाटन सँगै गाउँमै सुविधा पाएपछि स्थानिय खुशी रहेको स्थानीय नामग्याल सिन्तानले बताए । स्वास्थ्य चौकीका लागि पुर्वाधार निर्माण भएपनि खानेपानीको अभावका कारण सेवा दिन समस्या रहँदै आएको थियो । हेटौंडाबाट पानी लगेसँगै उपमहानगरले नकौली आधारभूत शहरी स्वास्थ्य चौकीबाट सेवा दिन थालेको हो । स्वास्थ्य चौकीको २ पौषमा हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँले संयुक्त उद्घाटन गरेका हुन् । स्वास्थ्य चौकीको उद्घाटन गर्दै नगर प्रमुख लामाले रोगलाई लुकाउने बानी तत्कालै छोड्न आग्रह गरीन् ।

उनले घरपरिवार, छिमेकको डरले रोग लुकाएर बस्ने परम्परा रहेको छ त्यसलाई तत्काल छाड्न स्थानीयलाई आग्रह गरिन् । स्वास्थ्य चौकीबाट उपचार सेवालाई परिस्कृत गर्दै लैजान उपमहानगरपालिका तयार रहेको भन्दै बिस्तारै प्रसुती सेवाको पनि व्यवस्था गरीने बताइन् । कार्यक्रममा नगर उपप्रमुख राजेश बानियाँले नगरको बिकासमा काम गरीरहेको बताए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ८ नम्बरका वडा अध्यक्ष रामकृष्ण थापा, ९ नम्बरका वडा अध्यक्ष सुकराम केसी, कार्यपालिका सदस्यहरु पातलिमाया गोङवा, रुकमीणी गोङवा, इश्वरी रसाईली लगाएतको आतिथ्यता रहेको थियो । हेटौंडा १ का वडा अध्यक्ष सबिन न्यौपानेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमममा उनले स्थानीयका लागि पानी, प्रसुति सेवा, कृषि, बाटो पुर्वाधार सहितको व्यवस्थापनमा उपमहानगरले ध्यान दिँदै कार्यक्रमहरु ल्याउन आवश्यक रहेको बताए ।

पालिका प्रेस
थप जानकारी