हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले उद्योग सञ्चालन गर्न सम्झौता गरी उद्योग सञ्चालनमा नल्याउने चार वटा उद्योगसँगको सम्झौता रद्द गरेको छ । कार्यालयले उद्योग सञ्चालन गर्न सम्झौता गरेका ती उद्योगहरुले आवश्यक संरचना निर्माणसँगै उद्योग सञ्चालनमा ल्याउन नसकेको भन्दै सम्झौता रद्द गरेको हो ।

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक भोजराज बिनाडीले सनराइज कन्टेनर्स प्रालि, नाथ फुड्स् इण्डष्ट्रिज प्रालि, लक्ष्मी पेन्ट्स प्रालि र बि वाई एस हेटौँडा प्रालिसँग हेटौँडा औद्योगिक क्षेत्रभित्र उद्योग सञ्चालन गर्न गरिएको सम्झौता रद्द गरिएको जानकारी दिए । सनराइज कन्टेनर्सले प्लाष्टिकका बस्तुहरु, नाथ फुड्स् इण्डष्ट्रिजले बिस्कुट तथा बेकरी, लक्ष्मी पेन्ट्सले वाल पुटिङ, रङरोगन र बि वाई एस हेटौँडा विभिन्न प्रकारका फ्ल्याट, एङ्गल फाइल, कम्बिनेसन प्लायर लगायतका औजार उत्पादन गर्ने गरी उद्योग सञ्चालनका लागि जग्गा भाडामा लिन सम्झौता गरेको थियो । उनले ती उद्योगहरुले उद्योग सञ्चालन गर्न सम्झौता गरी लामो समयसम्म पूर्वाधार निर्माण गरी उद्योग सञ्चालन नगरेको र जग्गा मात्र ओगटेकोले सम्झौता रद्द गरिएको बताए ।

सम्झौता भएको छ महिनाभित्रमा आवश्यक संरचना निर्माण कार्य सुरु गरी दुई वर्षभित्रमा उद्योग सञ्चालनमा ल्याईसक्नुपर्ने र सञ्चालनमा ल्याउन नसकेमा दुई पक्षबिच भएको सम्झौता स्वतः रद्द हुने सम्झौतामा उल्लेख छ । तर दुई वर्षभन्दा बढी भइसक्दा समेत हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले सम्झौता रद्द गर्न सकेको थिएन ।ती चार वटा उद्योगहरुले उद्योग सञ्चालन गर्ने भन्दै औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयसँग सम्झौता गरी जग्गा ओगट्दै आएका थिए ।
गोर्खापत्रबाट ।

पालिका प्रेस
थप जानकारी