नेपाली सेनाले हाल बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालनको तयारी थालेको छ । २३ वर्षअघि बन्द भएको २३६ रोपनी क्षेत्रफलमा फैलिएको यो उद्योग ४८ वर्षअघि स्थापना भएको थियो । तर, राजनीतिक, कमजोर प्रशासनिक र फितलो व्यवस्थापनको सिकार बनेको उद्योग पुनः सञ्चालनको आशा पलाएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेटौँडा कपडा उद्योगसहित बन्द रहेका उद्योगहरु पुनः सञ्चालन गर्न छलफल गर्दै आएका छन् । उद्योग सञ्चालनको घोषणा सरकारले पटक–पटक गर्दै आइरहेको थियो र छ । तर, पुरानो प्रविधिमा जडान भएका मेसिनरी सामाग्रीबाटै उत्पादन थाल्न असम्भव प्रायः देखिएपछि सबै निकाय पछि हट्दै आइरहेका छन् । गत आर्थिक वर्षको बजेटमा पनि सरकारले हेटौँडा कपडा उद्योग चलाउने भन्दै बजेट विनियोजन गरेको थियो ।
यस्तै, सरकारले हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याएर उत्पादित कपडाबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बर्दी उत्पादन गर्ने घोषणा समेत गरेको थियो । तर, सरकारद्वारा विनियोजित बजेटबाट उद्योग पुनः सञ्चालन नहुने देखेपछि सबै निकाय पछि हट्दै आएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्त बताउँछन् । नेपाली सेनाले उद्योग चलाउने योजनासहित स्थलगत अध्ययन समेत गरिसकेको छ । अध्ययनबाट सेनाले पुरानो प्रविधिको दुई दशकभन्दा धेरै समयदेखि नचलेको मेसिनरीबाट उद्योग सञ्चालन गर्न कठिनाइ हुने निष्कर्ष निकालेको छ । यसका लागि सेनाले नयाँ मेसिन किन्ने र त्यसका लागि ३ अर्ब रुपैयाँ सम्मको लागत अनुमान गरिसकेको बताइन्छ ।
नेपाली सेनाका प्रवक्ता कृष्ण प्रसाद भण्डारी सेनाले वर्षौँदेखि बन्द उद्योग सञ्चालन गर्न सक्ने÷नसक्नेबारे प्रारम्भिक अध्ययन गरिरहेको बताए । उनले यसबारे ठोस निर्णय भइनसकेपनि प्रारम्भिक अध्ययनमा नेपाली सेना रहेको रातोपाटीलाई जानकारी दिए । ‘वर्षौँदेखि बन्द अवस्थामा रहेको यो उद्योग सञ्चालनमा ल्याउन सकिएमा सेनाले प्रयोग गर्ने बर्दी उत्पादन गर्न सकिन्छ भन्ने प्रारम्भिक निष्कर्ष छ,’ उनले भने ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्