राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले वडाको संख्या बढाउन र पालिकाको संख्या घटाउन सरकारलाई सुझाव दिएको छ । यसो गरिएमा प्रशासनिक खर्च घटाउन मद्दत पुग्ने समितिको जिकीर छ ।

हाल नेपालमा ७५३ पालिका र ६ हजार ७४३ वटा वडाहरु छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले सात वटै प्रदेशमा पुगेर तीन तहका सरकारबीच अन्तरसम्बन्ध र समन्वयबारे अध्ययन गरेको थियो । त्यससम्बन्धी अध्ययन प्रतिवेदन यही १७ फागुनमा राष्ट्रिय सभामा पेस भएको छ ।

‘तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन २०८०’ मा स्थानीय तहबाट प्राप्त सुझावहरु एकीकृत गर्दै लेखिएको छ, ‘संघीयतालाई सबल बनाउन पालिकामा वडाको संख्या बढाएर सेवा प्रवाह बढाउन र हालका पालिकाको संख्या घटाउनु आवश्यक छ । जसले प्रशासनिक खर्च कम गर्नमा मद्दत पुग्दछ ।’

संघ, प्रदेश र स्थानीय तहले एकै प्रकृतिका कार्यालयहरु खोलेका कारणले समेत प्रशासनिक खर्चको भार अत्यधिक भएको प्रतिवेदनमा औंल्याइएको छ । ‘संघ, प्रदेश र स्थानीय तहले एकै प्रकृतिको कार्यालयहरु खोल्दा प्रशासनिक खर्चको भार अत्याधिक भएको हो,’ प्रतिवेदनमा लेखिएको छ ।

यसैबीच मकवानपुरकै सबैभन्दा सानो पालिका इन्द्रसरोवर गाउँपालिका र थाहा नगरपालिकाबीच एकीकृत हुने पनि बहस सुनिन थालेको छ । यद्यपि यस विषयमा प्रशासनिक रुपमा कुनै पनि प्रक्रिया भने अघि बढेको छैन । थाहामा १२ र इन्द्रसरोवरमा जम्मा ५ वटा मात्र वडा कार्यालय रहेका छन् ।

पालिका प्रेस
थप जानकारी