थाहा नगरपालिकाका विभिन्न स्थानहरुमा टेलिकमको पहुँच नहुदा जनतालाई समस्या परेको भन्दै सेवा विस्तार गर्न नेकपा एमाले थाहा नगरले नेपाल टेलिकमको ध्यानाकर्षण गराएको छ ।

एमाले थाहाका अध्यक्ष सुरेन्द्रमान प्रधान, सचिव सुजन कुमार रायमाझी र प्रेस चौतारी मकवानपुरका सचिव रुपक कालिराजको टोलीले ६ चैत्रमा टेलिकम हेटौंडाका प्रमुख सुशील शाहलाई भेटेर सेवा विस्तारका लागि ध्यानाकर्षण गराउनु भएको हो ।

टोलीले थाहा नगरपालिका ७ देउखेल, थाहा ४ फापरबारी, जुरेथुम, जघरघारी र कैलाश गाउँपालिका ५ मा हालसम्म पनि टेलिकमको सेवा नहुदा जनता सञ्चार सुविधाबाट बञ्चित हुन परेको बताउदै तत्काल सेवा विस्तारका लागि आग्रह गरिएको नगर सचिव रायमाझीले बताए ।

टेलिकम हेटौंडाका प्रमुख शाहले तत्काल थाहा ७ देउखेलस्थित स्वास्थ चौकी र कैलाशको डाडाखर्कमा काम सुरु गर्ने प्रतिवद्वता व्यक्त गरे । प्रमुख शाहले थाहा ४ मा छिटोभन्दा छिटो प्राविधिक टोली पठाएर सम्भाव्यता अध्ययन गरिने बताए । ध्यानाकर्षण गराउदै थाहा एमाले अध्यक्ष प्रधानले विद्युत अवरुद्व हुँदा टेलिकमको सेवामा हुने गरेको समस्या बारे पनि ध्यानाकर्षण गराउदै समाधानका लागि अनुरोध गरेको छ ।