सामान्यतः एउटै मोटरसाइकलको मूल्य ३ लाख रुपैयाँभन्दा बढी भएको अवस्थामा जिल्ला प्रहरी कार्यालय मकवानपुरले १५४ वटा मोटरसाइकलको न्यूनतम मूल्य ६ लाख ८१ हजार राखेर लिलामीका लागि बोलपत्र आव्हान गरेको छ । मकवानपुरका विभिन्न प्रहरी कार्यालयहरूमा बेवारिसे अवस्थामा थन्किएर रहेका मोटरसाइकल सँगसँगै अन्य सवारी तथा विद्युतीय सामग्रीको लिलामीका लागि कार्यालयले बोलपत्र आव्हान गरेको हो । लिलामीका लागि अहिले जिल्लाका विभिन्न भागबाट ती सवारीसाधनहरू इलाका प्रहरी कार्यालय पशुपतिनगरको हातामा जम्मा गरिएको छ ।

यसअघि प्रहरी नियन्त्रणमा रहेका सवारीसाधन लगायतका सामग्रीहरू लिलामीका लागि पहल गरे पनि कार्यविधि नहुँदा प्रहरी कार्यालय परिसरहरूमा थन्किएका थिए । सरकारी सम्पत्ति तथा जिन्सी मालसामान लिलाम बिक्रीसम्बन्धी कार्यविधि २०७९ तयार भएर कार्यान्वयनमा आएपछि बल्ल लिलामीको प्रक्रियामा जान सहज भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।

२०७९ जेठ ३१ गते मन्त्रिपरिषद्बाट स्वीकृत कार्यविधिको दफा २० अनुसार लिलाम बिक्रीका लागि बोलपत्र आव्हान गर्नुअघि सम्बन्धित सवारीको विवरणसहित स्वामित्व दाबीका लागि १५ दिने सूचना प्रकाशित भए पनि कसैको दाबी नआएपछि लिलामीका लागि मार्ग प्रशस्त भएको प्रहरी उपरीक्षक रिजालले बताए ।

प्रहरी चेकजाँचका क्रममा कागजपत्र नभएका तथा विभिन्न आपराधिक घटनामा नियन्त्रणमा परेका सवारीसाधनहरूमध्ये बेवारिसेलाई मात्र हाल लिलामीको प्रक्रियामा लगिएको हो । प्रहरी उपरीक्षक रिजालका अनुसार वास्तविक सवारीधनीको विवरण भेटिएका सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता गरिएको छ । त्यसका लागि झण्डै दुई महिना देशैभरका यातायात कार्यालयहरूसँगको समन्वयमा अनुसन्धान भएको उनले जानकारी दिए ।

जिल्लामा अझै पनि ४ सयको हाराहारीमा मोटरसाइकल तथा अन्य सवारीसाधन प्रहरी नियन्त्रणमा रहेको छ । कार्यविधिले पुराना सवारी साधनलाई मात्र लिलाम बिक्री गर्न सकिने व्यवस्था उल्लेख गरेकाले सोहीअनुसार अघि बढिएको रिजालको भनाइ छ । लागूपदार्थ ओसारपसार लगायतका कतिपय अदालतमा जारी मुद्दासँग सम्बन्धित सवारीसाधनहरू समेत प्रहरी परिसरमै रहँदा त्यसको सुरक्षा तथा व्यवस्थापनमा कठिनाइ भइरहेको उनले बताए ।‘प्रहरीको आफ्नै सवारीसाधन राख्नेसमेत ओत छैन, मुद्दाका सवारीसाधनलाई हामीले कसरी व्यवस्थित गर्न सक्छौँ र ?’ प्रहरी उपरीक्षक रिजालले भने ।

प्रहरी नियन्त्रणमा रहेका सवारीसाधनहरू ओतको अभावमा जथाभावी राखिँदा कतिपय च्यासिस मात्र बाँकी रहेका तथा इन्जिनका पार्टपुर्जा काम नलाग्ने अवस्थामा रहेका छन् । प्रहरीले हाल लिलामी गर्न लागेका १५४ मोटरसाइकलको नयाँ बजारमूल्य झन्डै ४ करोड रुपैयाँ हुन आउँछ ।

-सैर्यअनलाइनबाट

पालिका प्रेस
थप जानकारी