बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योगहरुले बार्षिक प्रतिवेदन संकलन गर्न औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई निर्देशन दिएका छन् ।

मंगलबार औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुको अवलोकन गर्दै मन्त्री श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई यस्तो निर्देशन दिएका हुन् । उद्योग मन्त्री श्रेष्ठले सबै उद्योगहरुको प्रतिवेदन संकलन गरेर राख्न हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापक कार्यालयकी निमित्त व्यवस्थापक संगिता कुवँरलाई निर्देशन दिएका हुन् । साथै मन्त्री श्रेष्ठले औद्योगिक क्षेत्रमा रहेको एसियन पेन्ट्स, एन्टार्टिक बिस्कुट प्रा.लि र सोफ्टी कम्पनीमा अवलोकन गरेका छन् ।

मन्त्री श्रेष्ठले उद्योगहरुको अवलोकनका क्रममा उद्यागीहरुलाई परेको समस्या र उद्योग मन्त्रालयले गर्नुपर्ने सहयोगको बिषयमा समेत छलफल गरेका थिए । उक्त क्रममा एन्टार्टिक बिस्कुट प्रा.लि मा ठुलो सिलिन्डरको ग्याँस प्रयोग गर्न नपाएका कारण निकै समस्या भोग्नुपरेको उद्योगीले गुनासो गरेका थिए । उद्योगको संरचना नै ४५० के.जीको ग्याँस प्रयोग गर्न मिल्ने गरी बनाइए पनि मापदण्डका कारण १४.५ के.जी कै ग्याँस सिलिण्डर प्रयोग गर्न परेको बताएका थिए । उक्त समस्या समाधान गर्नका लागि पहल गर्ने मन्त्री श्रेष्ठले प्रतिवद्धता जनाए ।

उद्योगीहरुको समस्या समाधान गर्दै उद्योगीलाई देशमै टिकाइराख्न प्रदेशको उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्रालयले सधैँ साथ दिने बताए । औद्योगिक क्षेत्रमा उत्पादन भएका सामाग्रीहरु प्रदेशभित्रै प्रयोग गर्ने वातावरण मिलाइने उनले बताए । निरिक्षणका क्रममा हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयकी निमित्त व्यवस्थापक संगिता कुवँर, उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्मा, उद्योग संघ मकवानपुरका पूर्व अध्यक्ष लेखराज पोखरेल लगाएतको सहभागिता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी