नेपाल होमस्टे व्यवसायी महासंघका केन्द्रिय सचिवालय सदस्य माधव कार्कीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका भित्र फरक क्षमता भई दैनिक जीविकोपार्जन गरिरहेका उद्यमीहरुलाई सम्मान गरेका छन् । जन्मदिनको अवसर पारेर पालुङ जेसीजका सदस्य समेत रहेका थाहा नगरपालिकाका २ का युवा पर्यटन व्यवसायी कार्कीले ४ जनालाइृ सम्मान गरेका हुन् ।

डाँडाघरे होमस्टेमा आयोजित जन्मोत्सव कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ३ गोपाली गाउँका मिल संचालक मनलाल गोपाली, थाहा–४ दोबाटोका अटो चालक बिष्णु गोले, थाहा–३ डाडागाउँका सिकर्मी पेशा गर्दै आइरहेका सानोभाइ भुजेल र थाहा १२ मा दृष्टिबिहिन भएर पनि किराना पसल संचालन गर्दै आइरहेका मान बहादुर स्याङ्तानलाई सम्मानपत्र तथा दोसल्ला ओडाएर सम्मान गरिएको हो। गोपाली र गोले खुट्टाको अपाङ्गता भएका व्यक्ति हुन् ।

पालुङ जेसीज बर्ष २०२४ का उपाध्यक्ष तथा कार्यक्रम संयोजक नारायण कार्कीको अध्यक्षता तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा न २ का अध्यक्ष बम बहादुर सिन्तान, पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीले शुभकामना दिदै सबैले आफ्नो व्यक्तिगत खुशी तथा उत्सव मनाउँदा यस्ता खाले कार्यक्रमको आयोजना गर्दा समाजमा सकारात्मक सन्देशको प्रवाह हुने बताए ।

कार्यक्रममा पालुङ जेसीजका पुर्व अध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत पालुङ जेसीजका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

पालिका प्रेस
थप जानकारी