हेटौंडा उपमहानगरपालिकाले आवश्यक दरबन्दी भन्दा बाहेकका कर्मचारी फिर्ता गर्ने निर्णय गरेको छ । स्वीकृत संगठन संरचना तथा तेरिज दरबन्दी बाहेकका कार्यालयलाई आवश्यक नरहेको भन्दै फिर्ता पठाउने निर्णय गरेको हो । तेरिज दरबन्दी भन्दा बढी कर्मचारी आवश्यक नरहेको भन्दै ४४ औं कार्यपालिका बैठकले स्थायी दरबन्दी कर्मचारी फिर्ता पठाउन मुख्यमन्त्री तथा मन्त्रीपरिषद्लाई पत्राचार गर्ने निर्णय गरेको हो ।

तेरिज दरबन्दी भन्दा बढी कर्मचारी सम्बन्धित निकायमा फिर्ता पठाउने निर्णय भएको नगर प्रवक्ता सबिन न्यौपानेले जानकारी दिए । त्यस्तै कार्यपालिका बैठकले हेटौंडा–३ बसामाडीस्थित प्रस्ताबित नेपाल आई प्रोग्राम, द फ्रेण्ड हेलोज ईन्ट्राअकुलर लेन्स ल्यावरोटरी स्थापना कार्यको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिबेदन स्वीकृत गर्ने निर्णय गरेको छ । साबिक बसामाडी गाविसस्थित नबीन रिरोलिङ ईण्डस्ट्रीज रहेको स्थानमा लेन्स ल्यावरोटरी स्थापना गर्ने तयारी भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रबिभक्त श्रेष्ठको लगानी रहेको रिरोलिङ कम्पनी दुईदसक बढीदेखि बन्द रहेको थियो ।

त्यस्तै, हेटौंडा–१६ स्थित आकाशधारा सडकको स्तरीकरण गर्नका लागि गरिएको वातावरणीय परीक्षण प्रतिबेदन पनि स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् । नगर सभाको १५ औं अधिवेशन आगामी असार २ गते आब्हान गर्ने पनि निर्णय भएको छ । नगरको बिपद् ब्यवस्थापन कोष संचालन कार्यबिधि २०७९ को पहिलो संशोधन प्रस्ताव स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् ।

पालिका प्रेस
थप जानकारी