बंगालको खाडीबाट उत्पन्न रेमल चक्रवातको अप्रत्यक्ष असर नेपालको पूर्वी भागमा देखिन थालेको छ । खासगरी कोशी प्रदेशका तराई भागका जिल्लाहरु मोरङ, झापा लगायतमा बदली र वर्षा भइरहेको छ । आज अपराह्नदेखि बागमती र गण्डकी प्रदेशका केही भागमा पनि हल्का वर्षाको सम्भावना छ ।
कुन प्रदेशमा कस्तो असर ?
मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै रेमल चक्रवातको असर नेपालको कुन प्रदेशमा कस्तो खालको रहन्छ भन्ने जानकारी समेत दिएको छ ।
कोशी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चटयाङ्ग, हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । तराईका भू–भागमा हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चटयाङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन चटयाङ्ग हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चटयाङ्ग हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विशेष बुलेटिनमा उल्लेख छ ।
रेमल चक्रवातको बढी असर भारत र बंगलादेशमा रहने पूर्वानुमान छ । भारतको आसाम, मेघालय, पश्चिम बंगाल, अरुणाञ्चल प्रदेशमा तीव्र हुरी चल्ने र मध्यमदेखि भारी वर्षा हुने त्यहाँको मौसम विज्ञान विभागले जनाएको छ । रेमल चक्रवातले क्षति पुर्याउन सक्ने भएकाले कलकत्ता विमानस्थलमा उडान–अवतरण बन्द गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्