हेटौंडा बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एका लाल श्रेष्ठले आर्थिक वर्ष २०८१-८२ को विनियोजित बजेटमा खानेपानी, सरसफाई तथा सुलभ सिँचाइ वर्ष” अभियानलाई सार्थकता दिनेगरी कार्यक्रम ल्याईएको बताउनुभएको छ । प्रदेशसभामा आ.व २०८१-८२ को विनियोजित बजेटमाथिको छलफलमा प्रदेश सभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै खानेपानी उर्जा तथा सिंचाइ मन्त्री श्रेष्ठले नागरिकको घर घरमा शुद्ध खानेपानी र किसानहरुको खेतमा सिँचाइ सुविधा पुरयाउने गरि मन्त्रालयले कार्यक्रम ल्याएको बताउनुभयो ।

खानेपानी र सिँचाइका समस्याहरु, अवस्था, आवश्यकता र योजना सञ्चालनमा भएका समस्याहरुका बारेमा प्रदेश सभाका सदस्य, स्थानिय तहका प्रतिनिधिहरु र उपभोक्ताहरुसँग छलफल गरी प्राप्त निष्कर्षलाई आगामी दिनमा समावेश गर्दै लगिने मन्त्री श्रेष्ठले बताउनुभयो । मन्त्री श्रेष्ठले खानेपानी सिँचाइ कार्यालयहरुबाट सम्भाव्यता अध्ययन गरी आवश्यकताका आधारमा क्रमागत/नयाँ शुरु गर्नु पर्ने आयोजनाहरु समावेश गरिएको भन्दै यसवर्ष योजनाहरु छनोट गर्दा खानेपानी, सिँचाइ, नदि नियन्त्रण र ऊर्जामा क्रमशः बजेट प्राथमिकताका साथ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

मन्त्रालयमा आर्थिक वर्ष २०८१/०८२ मा ६ अर्व ९३ करोड २८ लाख ७७ हजार बजेट विनियोजन भएकोमा खानेपानी सरसफाई तर्फ ३ अर्ब ११ करोड ४१ लाख २३ हजार र जलश्रोत तथा सिँचाइ विकास डिभिजन तर्फ ३ अर्ब ३ करोड २७ लाख ९४ हजार विनियोजन भएको छ। जसमध्ये करिब ८५ प्रतिशत बजेट विगतमा सञ्चालित बहुबर्षिय र क्रमागत आयोजनाहरुमा विनियोजन गरेको बताउनुभयो । मन्त्रालय स्तरिय Project Bank हाल तयारी अवस्थामा रहेको जानकारी गराउदै मन्त्री श्रेष्ठले प्रोजेक्ट बैकलाई प्रदेश नीति तथा योजना आयोगसँग समन्वय गरी आगामी आ.ब. को बजेट निर्माण गर्दा पूर्ण रुपमा कार्यान्वयनमा लानका लागि आवश्यक पहल गरिने बताउनुभयो ।

पालिका प्रेस
थप जानकारी