मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ मा रहेकी आर्थिक अवस्था कमाजोर भएकी चिनीमैयाँ नेपालीलाई डकुड्रामा ‘हामी छौ’ टोलीले सहयोग गर्ने भएको छ । चिनीमायाँ एकल महिला हुन् । लुगा सिलाउने कामबाट दैनिक गुजारा गर्दै आएकी उनको वि.सं. २०७२ सालको भूकम्पले घर पनि भत्किएपछि उनी थप पीडामा छिन् । उनले अझै घर बनाउन सकेकी छैनन्, भत्किएको घरको जगमै दुखजिलो बनाएकी सानो छाप्रोमा बस्दै आएकी छिन् । चिनीमैयालाई डकुड्रामा टोलीले १९ असारमा सहयोगका लागि छनोट गरेको हो ।

डकुड्रामाका प्रस्तुतकर्ता शोभित बस्नेतका अनुसार–डकुड्रामामार्फत सात प्रदेशबाट ७ जना व्यक्तिलाई सहयोगका लागि छनोट गरिनेछ । ‘वास्तविक जीवनमै पीडित व्यक्तिलाई हरेक एपिसोडमा राम्रो आर्थिक सहयोग गर्ने तयारी छ’–बस्नेतले भने । आर्थिक रुपमा पीडितलाई सहयोग गर्ने नै डकुड्रामाको उद्देश्य रहेको ड्रामाकी कलाकार तथा निर्माता सलिना बस्नेतले बताइन्।

डकुड्रामा निर्माण टिमले चिनीमायाँलाई २५ हजार नगदसहित एउटा लुगा सिलाउने मेसिन प्रदान गरिसकेको छ । उनका लागि अब बैंक खातामा सहयोग रकम जम्मा हुने प्रस्तुतकर्ता शोभित बस्नेतले सुनाए । यसका लागि चिनीमैयाँ नेपाली र थाहा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष नारायण लामाको संयुक्त नाममा कामना सेवा विकास बैंकमा खाता समेत खोलिएको छ ।

चलचित्र उद्योग मार्फत थाहानगरलाई प्रचारप्रसर समेत गर्दै आएका बस्नेतले सामाजिक सेवाका लागि पनि यहिँ ठाउँ रोजेको प्रतिक्रिया दिए । डकुड्रामाको सुटिङनै थाहाको चित्लाङबाट शुरु गरेका बस्नेतले थपे–‘थाहाकै अर्को एक जना अति विपन्नलाई पनि सहयोग गर्ने सोच छ ।’ शोभित बस्नेत प्रस्तुतकर्ता रहेको डकुड्रामा आगामी दसैंमा रिलिज हुने जनाइएको छ। यो डकुड्रामा ७ भागको हुनेछ ।

सलिना बस्नेत र आर्यन पौडेलको प्रमुख भूमिका रहेको डकुड्रामामा त्रिसना क्षेत्री, सुशान्तकुमार श्रेष्ठ, समीर खान, शिवराज नेपाल, गणेश बुढाथोकीलगायत कलाकारको अभिनय छ। प्रस्तुतकर्ता शोभित बस्नेतले देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकुड्रामा बनाइएको बताए । सुशील देवकोटाको लेखन रहेको डकुड्रामाका निर्देशक रामजी राउत हुन्। रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, आनन्द अधिकारीको गीत, शम्भुजित बासकोटाको संगीत रहने डकुड्रामालाई बन्दे प्रसादले सम्पादन गर्नेछन् ।

पालिका प्रेस
थप जानकारी