समायोजनको लागि माग गरिएको विशेष नगरसभा शुक्रबार दिउँस करिब आधाघण्टा बसेर स्थगित भएको छ । सभामा विशेष नगरसभा माग गर्ने बहुमत सदस्यको तर्फबाट एकजना र उपमहानगरको तर्फबाट एकजना नगरसभा सदस्यले धारणा राखेपछि नगरप्रमुख मीनाकुमारी लामाले सभा स्थगित गरेकी हुन् ।

सभाको अध्यक्षता गरेकी लामाले नगरसभाको पुनः अर्को बैठक १५ असोजका लागि तय गर्दै सभा स्थगित गरेकी हुन् । नगरप्रमुख लामाले सभा सुरु भएपछि नगरसभा बोलाउनुपर्ने औचित्य पुष्टि गर्नका लागि नगरसभा माग गर्ने सदस्यको तर्फबाट ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देल र उपमहानगरकातर्फबाट धारणा राख्न प्रवक्ता सविन न्यौपानेलाई समय दिएकी थिइन् । नगरसभामा कडा सुरक्षा व्यवस्था अपनाइएको थियो । उपमहानगरको कार्यालय भवन पछाडि निर्माण भइरहेको सभाहलमा नगरसभा राखिएको थियो ।

कार्यालयको गेटमा नगरप्रहरीले कडा सुरक्षा दिएका थिए । मिडियाकर्मीलाई समेत प्रवेशमा रोक लगाइएको थियो । सभामा विशेष नगरसभा बोलाउनुपर्ने औचित्यबारे र चालू आर्थिक वर्ष २०८१/८२ का लागि वृद्धि गरिएको कर समायोजनका सम्बन्धमा कानुनी जटिलताक विषयमा करिब आघा घण्टा छोटो धारणा प्रस्तुत भएको थियो । दुई सदस्यले बोलेलगत्तै नगरप्रमुख लामाले ५२ औं कार्यपालिका बैठकबाट उपप्रमुखको संयोजकत्वमा कार्यदल बनेकाले सो कार्यदलले आवश्यक तयारी गर्न नभ्याएकोले कानुनतः सबै तयारी गरी छलफल गर्नेगरी आगामी १५ असोजमा बैठक बोलाउने गरी बैठक स्थगित गरेको नगरसभाका एक सदस्यले जानकारी दिए । उपमहानगरपालिकाको मंगलबार बसेको नगरकार्यपालिका बैठकले राजश्व परामर्श समितिका संयोजकसमेत रहेका उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा वडाअध्यक्ष सविन न्यौपाने, नवीन सिग्देल, विष्णुगोपाल महर्जन र फुर्वादोर्जे लामा सदस्य रहने गरी पाँच सदस्यीय कार्यदल गठन गरेको थियो ।

पालिका प्रेस
थप जानकारी