नेपाली काँग्रेस संवद्ध नेपाल तरुण दल थाहानगर कार्यसमितिको आयोजनामा जनप्रतिनिधिसंग अन्तरक्रिया, चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम भएको छ । थाहानगरको फेमेली क्यान्क्वेटमा १४ कार्तिकमा नेपालीहरुको महान चाड शुभ दिपावली तथा नेपाल संबत ११४५ को अवसरमा कार्यक्रम गरिएको हो ।

नेपाली काँग्रेस महासमिति सदस्य, नेपाल निर्माण ब्यवसायी महासंघका पूर्व अध्यक्ष तथा समाजसेवी जयराम लामिछानेको प्रमुख आतिथ्यता भएको कार्यक्रम तरुण दल थाहानगर अध्यक्ष नबराज लामाको सभाध्यक्षतमा भएको थियो ।

कार्यक्रमको अवसरमा सहभागीहरुले जनप्रतिनिधिहरुलाई विभिन्न वडाका सभापतिहरुले गुनासो, प्रश्न, सुझाब तथा आगामी दिनहरुमा कार्यसम्पादन र जनपक्षीय कार्य गर्न सुझाव दिएका थिए । जनताको काममा कुनै सम्झौता नगरी परिणाममुखी कार्य गर्न र निरंतरता दिन उनीहरुले प्रश्न मार्फत ध्यानाकर्षण गरेका थिए । आफ्नो वडामा गरेको कार्य विवरण प्रस्तुत गर्दै सबै वडाध्यक्षहरुले आफुहरु काम र विकासको मामलामा दिन रात नभनी लागिपरेको र बाँकी कार्यकाल सकारात्मक कर्मद्वारा जनताका समस्या समाधान गर्दै सम्झन लायक बनाउन अग्रसर भएको उल्लेख गरे ।

सो अवसरमा थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीले जनमतको आफुले कदर गरेको र न्याय सम्पादनसहित विकास निर्माणलगायत सर्वपक्षीय बिषयहरुमा आफुले जनतालाइ निराश नबनाएको सुनाए । कार्यक्रमका प्रमुख अतिथी जयराम लामिछानेले आफू पनि थाहानगर बासी भएको हुनाले यहाँको विकास र जनताको चाहना आफ्नो कर्तव्यमा पर्ने भएकोले सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गरे । थाहानगरका विभिन्न वडामा बाटो खन्ने क्रममा आफूले मेसिन सहयोग गरेको स्मरण गर्दै जनताले चाहे जहिले जतिखेरै जुनसुकै तरिकाबाट पनि आफू जनताको पक्षमा आर्थिक, राजनितिक र सामाजिक जुनसुकै रुपमा उपलब्ध हुने लामिछानेको भनाइ थियो ।

कार्यक्रममा थाहानगर भित्रका नेपाली काँग्रेस नगर समिती पदाधिकारी, वडा सभापतिहरु, ने.बि.संघ, महिला संघ, तरुण दललगायत विभिन्न भातृ संगठनहरु शुभेच्छुक संस्थाका काँग्रेस सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली काँग्रेसबाट निर्वाचित उपप्रमुख भरत गोपाली, वडा अध्यक्षहरु राजन भक्त श्रेष्ठ, शिबराज थिङ, टिकाराम स्याङ्तान तथा सदस्यहरुको पनि उपस्थिति रहेको थियो। कार्यक्रम युबा नेता तथा थाहानगर तरुण कार्यबाहक अध्यक्ष बिक्रम गोपालीले सञ्चालन गरेका थिए । कार्यक्रम अपेक्षाकृत रुपमा उत्साह भर्दै भब्य र सभ्य रुपमा सम्पन्न भएको काँग्रेस थाहा–४ सभापति श्रीकृष्ण केसीले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी