मकवानपुरगढी गाउँपालिका–५ मजुवामा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण मजुवा झरना उचित संरक्षण, प्रचारप्रसार र पूर्वाधार विकासको अभावमा ओझेलमा परेको छ । हेटौंडाबाट करिब १६ किलोमिटरको दूरीमा रहेको यो झरना पर्यटकीय गन्तव्य बन्न सक्ने पर्याप्त सम्भावना बोकेर पनि अपेक्षित पहिचान पाउन सकेको छैन।
चारैतिर अग्ला पहाड, बीचबाट छाँगाझैँ झरिरहेको पानी र चिसो हावाको स्पर्शले मजुवा झरना पुग्ने जोकोहीलाई आकर्षित गर्छ। छत्रेलेकबाट बगेर आउने पानीको अविरल प्रवाह र कलकल आवाजले यस क्षेत्रलाई थप मनमोहक बनाएको छ। हिउँदयाममा समेत झरनामा पानीको बहाव कायम रहनुले यसको प्राकृतिक विशेषतालाई अझ आकर्षक बनाएको स्थानीय शम्भु बजगाईले बताए ।
स्थानीय क्षेत्रमा रहेको मजुवा खानीसँग जोडिएको यस झरनाको इतिहास करिब एक सय वर्ष पुरानो रहेको बताइन्छ। प्राकृतिक रूपमा सुन्दर र हेटौंडाबाट नजिकै रहे पनि यसको पर्यटकीय सम्भावनाको पर्याप्त उपयोग हुन सकेको छैन। झरना अवलोकन गर्न पुग्ने पर्यटकका लागि आवश्यक पूर्वाधार, व्यवस्थित पहुँच, प्रचारप्रसार तथा संरक्षणका कार्यक्रम प्रभावकारी रूपमा अघि बढ्न नसकेको मकवानपुरगढी ५ का नबराज हुमागाईले बताए । जसका कारण जिल्लाभित्रै रहेका धेरै पर्यटकलाई समेत यस क्षेत्रबारे पर्याप्त जानकारी छैन।
प्राकृतिक सुन्दरता र शान्त वातावरणका कारण मजुवा झरना आन्तरिक पर्यटनको आकर्षक गन्तव्य बन्न सक्छ। यहाँ पदयात्रा, प्रकृति अवलोकन र पारिवारिक घुमफिरका गतिविधि सञ्चालन गर्न सकिने सम्भावना रहेको उनले बताए । यसका लागि स्थानीय सरकारको विशेष पहल आवश्यक रहेको स्थानीइ वासिन्दाहरु बताउँछन् । झरनाको प्राकृतिक स्वरूपमा असर नपर्ने गरी संरक्षण, आवश्यक पूर्वाधार निर्माण, पहुँचमार्ग व्यवस्थापन, सूचना बोर्ड राख्ने र प्रचारप्रसार गर्ने काम गर्न सके यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ।
पर्यटन प्रवद्र्धनसँगै स्थानीय रोजगारी र आर्थिक गतिविधि बढाउनसमेत मजुवा झरना महत्वपूर्ण माध्यम बन्न सक्छ। प्रकृतिले दिएको यस्तो सुन्दर उपहारको पहिचान, संरक्षण र प्रवद्र्धनमा मकवानपुरगढी गाउँपालिकाले प्राथमिकता दिनुपर्ने देखिन्छ। आफ्नै गाउँठाउँमा रहेका प्राकृतिक सम्पदाको पहिचान र संरक्षण गर्न सके टाढाका पर्यटकीय गन्तव्य खोज्दै जानुपर्ने बाध्यता हुँदैन। मजुवा झरना पनि उचित संरक्षण र प्रचारप्रसारको पर्खाइमा रहेको यस्तै सम्भावनायुक्त गन्तव्य हो।















































पालिका प्रेस 












प्रतिक्रिया दिनुहोस्