मकवानपुरको भीमफेदीबाट गाडी बोकेर राजधानी पुर्याउने ‘गाडी बोक्ने बूढा’का नामले परिचित धनबहादुर गोलेको नाममा मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङमा गोले पार्क निर्माण भइरहेको छ ।
थाहा नगरपालिका–९ वडा कार्यालयले २०८० सालदेखि पार्क निर्माण सुरु गरेको हो । चित्लाङको सिरानमा रहेको उक्त स्थानमा पिकनिक स्पट, सेड, पाटी, ढुंगा छापेर पैदलमार्गलगायत संरचना निर्माण भइसकेका छन् । २०८० देखि २०८२ सालसम्म पार्क निर्माणमा करिब साढे ४ करोड रुपैयाँ खर्च भइसकेको वडाध्यक्ष राजकुमार बलामीले बताए । ‘यो वर्ष प्रदेश सरकारले पार्क निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ,’ उनले भने । राजधानीसँग जोडिएको चित्लाङ क्षेत्र अहिले पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ ।
४२ रोपनी क्षेत्रफलमा फैलिएको पार्कको २९ करोड रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले डीपीआर तयार पारेको वडाध्यक्ष बलामीले जानकारी दिए ।
त्रिभुवन राजपथ निर्माण हुनुअघि भीमफेदीबाट भरियाले बोकेर काठमाडौं पुर्याउने गरिएको गाडीको इतिहास जीवन्त राख्न पार्कमा गाडी बोकेर हिँडिरहेको दृश्यको सिमेन्टको आकृति बनाउने योजना छ । उक्त आकृतिमा ‘गाडी बोक्ने बूढा’ धनबहादुर गोलेले भरियाहरूलाई बाटो देखाउँदै नाइकेको भूमिका निर्वाह गरेको दृश्य पनि समेटिने वडाध्यक्ष बलामीले बताए । ‘धनबहादुरले सुरुमा २५ वटा गाडी भीमफेदीबाट काठमाडौं पुर्याएका थिए । त्यसपछि उनी नाइके बनेर गाडी बोक्नेहरूलाई बाटो देखाउँदै अगुवाइ गर्थे,’ उनले भने ।
सिमेन्टबाट बन्ने उक्त आकृतिमा काठको नोल लगाएर चारैतिरबाट १६–१६ जनाले एउटा गाडी बोकेर लगिरहेको दृश्य देखाइनेछ । त्यतिबेला जति जनाले गाडी बोकेर काठमाडाैं पुर्यायो, त्यो गाडी त्यति नै मोडेलको भनेर चिनिथ्यो । गाडीको तौलअनुसार भरिया लगाइन्थ्यो । नोलको चारैतिर १६–१६ जना गरी ६४ जना वा २०–२० जना गरी ८० जनासम्मले एउटा गाडी बोक्थे । भीमफेदीबाट काठमाडौं पुर्याउन कम्तीमा दुई साता लाग्थ्यो ।
भीमफेदी, देउराली, चित्लाङ, चन्द्रागिरि हुँदै थानकोटबाट गाडी बोकेर काठमाडौं पुर्याइन्थ्यो । चित्लाङका ९१ वर्षीय बाबुकाजी मानन्धरका अनुसार त्रिभुवन राजपथ बनेपछि मात्रै गाडी बोक्ने चलन अन्त्य भएको हो । ‘पहिला–पहिला भीमफेदीबाट भरियाहरुले गाडी बोकेर यही बाटो हुँदै काठमाडौं लैजान्थे । यो गाउँका धनबहादुर गोलेले पनि गाडी बोक्थे,’ उनले भने । गोले चित्लाङका स्थायी बासिन्दा हुन् । उनको मृत्यु २०७२ पुस २७ गते भएको थियो ।
२०१३ सालमा त्रिभुवन राजपथ निर्माण हुनुअघि काठमाडौंमा गाडी बोकेरै भित्र्याउने गरिन्थ्यो । भीमफेदीदेखि काठमाडौंसम्म गाडी बोकेर पुर्याउँदा भरियाका दुई जोर चप्पल फाट्थे । त्यतिबेला उनीहरू परालका चप्पल लगाउँथे । ती चप्पल उनीहरू आफैं बुन्थे ।

त्रिभुवन राजपथ निर्माण भएपछि गाडी बोकेर राजधानी पुर्याउने परम्परा अन्त्य भयो । विगतमा गाडी बोकेर राजधानी पुर्याउने भरियाहरूको थातथलो मार्खु, कुलेखानी र चित्लाङ भए पनि अहिले तीमध्ये कोही जीवित छैनन् । ‘पहिला मानिसले गाडी बोकेर काठमाडौं लैजान्थे भन्ने विगतको जीवित इतिहास नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले पार्क निर्माण गरिएको हो,’ वडाध्यक्ष बलामीले भने, ‘गाडी बोक्नेहरूको सम्मान र हाम्रो इतिहासलाई जीवन्त राख्न गोले पार्क बनाउन लागेका हौं ।’
७९ वर्षअघि प्राविधिक सहयोग गर्न नेपाल आएका विदेशी नागरिक टोनी हेगन सानो गाडीमा भीमफेदीसम्म पुगेका थिए । त्यहाँबाट उनी पैदल हिँडे भने उनले चढेको गाडी भरियाहरूले बोके । गाडीका चारवटै पाङ्ग्रा खोलेर नोल लगाई बोकेको दृश्य देखेर उनी दंग परेका थिए । उनीसहितको टोली प्राकृतिक दृश्यावलोकन गर्दै भीमफेदीबाट चित्लाङ र चन्द्रागिरि हुँदै भोलिपल्ट काठमाडौं पुगेको थियो । तर, उनी चढेको गाडी काठमाडौं आइपुग्न १४ दिन लागेको थियो ।
उनको मात्र होइन, भीमफेदीबाट भरियाहरूले बोकेका गाडी काठमाडौं पुर्याउन सातदेखि १६ दिनसम्म लाग्थ्यो । साना र हलुका गाडी भने सात दिनमै पुर्याइन्थे । ७० वर्षअघिसम्म काठमाडौंमा चल्ने गाडीमध्ये अधिकांश मकवानपुरको भीमफेदीबाट भरियाहरूले बोकेर ल्याइएका हुन्थे । यसरी गाडी बोकेर राजधानी ल्याउने क्रम २०१३ सालसम्म चलेको मानन्धरले सुनाए। ‘अहिले गाडीले मान्छे बोक्छन्, उहिले मान्छेले गाडी बोकेपछि मात्र यात्रुहरू गाडी चढ्न पाउँथे,’ मानन्धरले भने ।
विसं १९८० को दशकदेखि काठमाडौंमा मोटरबाटो बन्न सुरु भएको थियो । त्यतिबेला उपत्यकाको सीमित सडक सञ्जाल थानकोटसम्म मात्रै थियो भने वीरगन्जतर्फको सडक भीमफेदीसम्म पुगेको थिएन । बाराको अमलेखगन्जसम्म रेल आउँथ्यो । त्यहाँबाट भीमफेदीसम्म साना गाडी चल्थे । त्यतिबेला चुरियामा सुरुङ खनिसकिएको थियो । त्यही सुरुङ हुँदै हेटौंडा, भैंसे र भीमफेदीसम्म साना गाडी आउँथे । त्यहाँबाट भरियाहरूले गाडीका पाङ्ग्रा, सिटलगायतका सामान खोलेर काठको नोलमा बाँधी बोकेर काठमाडौं पुर्याउने गरेको मानन्धरले बताए।






















































प्रतिक्रिया दिनुहोस्