नेपाल संवत्को ११४५ को अवसरमा शनिबार हेटौंडामा धिमेबाजासहित र्याली निकालेको छ । ‘न्हु दया’मूल समारोह समिति हेटौंडाद्वारा आयोजित कार्यक्रममा वाग्मती प्रदेश सभाका सदस्य एकलाल श्रेष्ठले नेपाल संवत् नेपालीहरूको संवत् भएको बताए ।
नेपाल संवत् ११४५को अवसरमा सबैलाई शुभकामना व्यक्त गरेका थिए । हेटौंडाको बुद्धचोकबाट बाजागाजा र झाँकीसहित निस्केको र्यालीले नगर परिक्रमा गरेको थियो ।र्यालीमा नेवार समुदायको उल्लेख्य सहभागिता थियो ।
यसैगरी कात्तिक शुक्ल प्रतिपदाका दिन आज अर्थात शनिबार नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।
आत्मसन्तुष्ट बनाइ खुसी राख्न सके देवीदेवता पनि प्रसन्न भइ आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ । यही शास्त्रीय मान्यता र विश्वासका आधारमा आत्म (म्हः) पूजा गर्ने परम्परा बसेको हो ।
प्रतिक्रिया दिनुहोस्