काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो छ । आज बिहान पौने ६ बजेको मापनमा न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस छ । यति नै न्युनतम तापक्रम सोमबार पनि थियो । मंगलबार भने काठमाडौंको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस मापन भएको थियो ।

मौसमविदले आगामी दिनमा तापक्रम घट्ने क्रम अझै जारी रहने बताएका छन् । त्यसैले चिसोबाट जोगिन आवश्यक पूर्वतयारीका काम गर्न जल तथा मौसम विज्ञान विभागले सबैलाई अनुरोध गरेको छ ।

मौसमविद् सञ्जिव अधिकारीले भने, ‘जाडो क्रमशः बढ्दै गइरहेको छ । तर यही बेला विगतको औसत तापक्रमसँग तुलना गर्ने हो भने चाहिँ सामान्य नै छ ।’

स्थिर खालको वायुमण्डल भएकाले तराई मधेश र पहाडी भेगमा हुस्सु लाग्ने र त्यो केहीबेरसम्म रहीरहने गरेको मौसमविद अधिकारीले बताए । आज बिहान पनि काठमाडौं उपत्यका, तराई र पहाडी भेगका केही स्थानमा हुस्सु लागेको छ ।

काठमाडौंमा हुस्सु लागे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान-अवतरण भने सामान्य छ । अहिले काठमाडौं विमानस्थलको भिजिबिलिटी ४ हजार ५०० मिटर रहेको मौसमविद अधिकारीले बताए ।

जुम्लाको न्यूनतम तापक्रम माइनस ४.५

मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा चिसो जुम्लामा छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ४.५ छ । यसैगरी जोमसोममा शून्य, जिरीमा ४.७, डडेलधुरामा ७.३, ओखलढुंगामा ७.६ र ताप्लेजुङमा ८.२ डिग्री सेल्सियस मापन भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ । तर एक-दुई दिन काठमाडौं उपत्यकामा वर्षाको सम्भावना भने देखिएको छैन ।

पानी पर्ने सम्भावना कस्तो ?

मौसमविद अधिकारीका अनुसार पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना छैन । तर कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई ठाउँमा छिटफुटदेखि हल्का किसिमको वर्षा हुने सम्भावना देखिने उनले बताए ।

विगत चौबिस घण्टामा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा फाटफुट पानी परेको छ ।

साथै कोशी र गण्डकीका हिमाली भूभागका एक–दुई ठाउँमा आज हिमपात पनि हनसक्ने सम्भावना छ । पहाडी र हिमाली भूभागको मौसम आजको तुलनामा भोलि र पर्सि अझै राम्रोसँग खुल्ने सम्भावना छ ।
‘आज पनि राम्रो नै छ र तर भोलि र पर्सि अझै राम्रो हुन्छ,’ मौसमविद अधिकारीले भने ।

पालिका प्रेस
थप जानकारी