मकवानपुर जिल्लाको विभिन्न स्थानमा भएको विभिन्न घटनामा ३ जनाको मृत्यु भएको छ । मकवानपुर प्रहरीका अनुसार लडेर, करेन्ट लागेर र अटोले ठक्कर दिएर १÷१ जना गरी ३ जनाको ज्यान गएको हो ।

मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ नेपालचोक स्थित युवराज बिडारीको घरको दुई तला माथिबाट लड्रे हेटौंडा १३ पदमपोखरीका ४१ वर्षीय सविन दुलालको मृत्यु भएको प्रहरीले जनाएको छ । विडारीको घरमा जस्ता लगाउने काम गर्ने दुलाल दुई तला माथीबाट खस्दा घाईते भएका थिए । घाइते उनको उपचारको लागि हेटौडा अस्पताल हुँदै थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी हेटौंडा ६ चौघडा स्थित कान्तिलोक पथ सडक खण्डमा अटोले पैदल यात्रीलाई ठक्कर दिदा पैदल यात्रो हेटौडा ६ शान्तिटोल बस्ने ६८ वर्षीय जनक राईको ज्यान गएको प्रहरीले जनाएको छ । १४ मंसिर विहान हेटौडा बजारबाट चुच्चेखोला तर्फ जाँदै गरेको ना २ ह २६९२ नम्बरको अटोले राईलाई ठक्कर घाइते भएका थिए । उनलाई उपचारको लागि हेटौडा अस्पताल हुँदै थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवनको लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अटो र अटो चालक हेटौंडा ६ बारुते बस्ने ३१ वर्षीय शंकर सार्कीलाई प्रहरीले नियन्त्रण लिएको छ ।

यस्तै १४ मंसिरमै जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ८ दारिमबासमा करेन्ट लागि स्थानीय ३८ वर्षीय मंगल सिङ प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । नेपाल विद्युत प्राधिकरणको ११ हजार भोल्टेजको हाइटेन्सन लाइन चुँडिएर भुँईमा लत्रिएको तारबाट करेन्ट लागेर प्रजाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै करेन्ट लागेर अर्का एक जना घाइते भएको छ । ११ हजार भोल्टेजको हाइटेन्सन लाइन चुँडिएर भुँईमा लत्रिएको तारबाट करेन्ट लाग्दा सोही ठाउँकी ४० वर्षीया इन्द्रमाया मगर घाइते भएकी छिन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी