किताबघर, हेटौंडाको आयोजनामा ‘बालबालिकासँग किताबका कुरा’ को पहिलो कार्यक्रम सम्पन्न भएको छ ।
हेटौंडा ४, भैरबरोडमा रहेको किताबघरमा शुक्रबार सम्पन्न कार्यक्रममा विभिन्न ५ विद्यालयका बालबालिकाले ‘एउटै मात्र इभान’ किताबमाथि चर्चा गरेका थिए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका दुईवटा सामुदायिक तथा तीन संस्थागत विद्यालयका विद्यार्थी सहभागी थिए । ज्ञानोदय बालवाटिका आवासीय मावि, हेटौंडा ५ कि अंशु लामा, सिद्धार्थ शिशु सदनका आदित्य पराजुली, बालजागृति इङ्लिस सेकेन्डरी स्कुलकी देविना सञ्जेल, सिद्धार्थ माध्यमिक विद्यालयकी स्वरुपा गुरागाइँ र बालज्योति माध्यमिक विद्यालयका शुभम् खनालले किताबका सकारात्मक तथा नकारात्मक पक्षबारे आफ्ना धारणा राखेका थिए ।
विशेषगरी पशु अधिकारबारे गम्भीर हुँदै जनावरलाई पनि मानवीय व्यवहार गर्न किताबले प्रेरित गरेको सहभागीहरूले बताएका छन् । हेटौंडामा पठन संस्कृतिको विकासका लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको किताबघरले बालबालिकालाई सहभागी गराएर पहिलोपटक किताब चर्चा गरेको हो ।
प्रत्येक महिनाको तेस्राे शुक्रबार यो कार्यक्रमले निरन्तरता पाउने किताबघरका प्रबन्धक छवि अनित्यले जानकारी दिए । कार्यक्रममा बोल्दै ज्ञानोदय बालवाटिका आवासीय माविका संस्थापक प्रिन्सिपल श्यामकुमार बानियाँले यस्ता कार्यक्रमले बालबालिकालाई किताबप्रतिको अभिरुचि बढाउने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्