हेटौंडा उपमहानगरपालिकाको नगरप्रमुख मीनाकुमारी लामाले हेटौंडा बजार क्षेत्रको सडक विस्तारको समस्या छिट्टै हल हुने बताएकी छिन् । विगत लामो समयदेखि अवरुद्ध भएको हेटौंडा बजार क्षेत्रको सडक विस्तारको विवाद समाधान हुने चरणमा रहेको उनले बताइन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरको छैठौं जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै मेयर लामाले एशियन हाइवेय अन्तर्गत रहेको हेटौंडा बजार क्षेत्रको राष्ट्रिय राजमार्गको समस्या हल हुने चरणमा रहेको बताइन् । एशियाली विकास बैंकले हेटौंडा बजार क्षेत्रको सडक निर्माणको विषयमा अध्ययन गरी रहेको र उक्त अध्ययनको प्रतिवेदन सरकारलाई बुझाउने तयारी रहेको उनले बताइन् ।

आगामी चैतसम्ममा एडिवीले उक्त प्रतिवेदन सरकारलाई बुझाएर राष्ट्रिय राजमार्ग अन्तर्गत पर्ने हेटौंडा बजार क्षेत्रको सडक विस्तारको काम अघि बढ्ने उनको भनाई छ । हेटौंडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारको विवादका कारण विकास निर्माणसंगै नागरिकहरुमा पनि समस्या भइरहेको उनले बताइन् । हेटौंडा बजार क्षेत्रको सडक किनारमा रहेका जग्गाको मुआब्जा नदिएपनि क्षती भएको भौतिक संरचनाको क्षतीपूर्ति दिएर २५ मिटर सडक निर्माण गर्न उपमहानगरपालिकाले लविङ गरिरहेको उनले बताइन् । उनका अनुसार हेटौंडा उपमहानगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाएको छ । उपमहानगरपालिकाले नागरिकहरुको स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्ने उद्देश्य अनुसार २ वटा नगर अस्पताल संचालनमा ल्याएको मेयर लामाले बताइन् । हेटौंडामा नै स्नातक तहमा कानुन विषय अध्यापनको व्यवस्था गरिएको र कृषि प्राविधिक तथा इन्जिनियरिङ विषयको अध्यापनको पहल भइरहेको उनले बताइन् ।

त्यस्तै फोनिज मकवानपुरमा नवराज वाईवाको नेतृत्वमा नयाँ समिति चयन भएको छ । समितिको उपाध्यक्षमा सन्देश थिङ, सचिवमा मनिता राना, कोषाध्यक्षमा भुवन घलान, सहसचिवमा निशा गुरुङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा भने जमुना थिङ, सम्झना थापामगर, अन्जना न्यासुर, रवीन्द्र वाईवा, भुपेन्द्र रानामगर, विवेक सिन्तान र दिव्यदृष्टी लामा चयन भएका छन् । फोनिजका अध्यक्ष अशोक सुजन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज पत्रकार मोहन सांगामीलाई नगद सहित सम्मान गरिएको थियो ।

पालिका प्रेस
थप जानकारी