मकवानपुरको मनहरी गाउँपालिकामा स्कार्पियो र कार ठोक्किँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

दुर्घटनामा घाइते चितवनको राप्ती नगरपालिका–२ गड्यौली बस्ने ५० वर्षीय सुनिता श्रेष्ठको उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या दुई पुगेको हो । यसअघि कार चालक हेटौंडा–४ स्कुलरोड बस्ने ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको मृत्यु भएको थियो ।

शनिवार वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कार्पियो र चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी–६ मा ठोक्किएका थिए ।

मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले दुर्घटनामा १४ जना घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको जानकारी दिए । कारलाई ठक्कर दिने स्कार्पियो चालक रौतहट घर भई पर्साको वीरगञ्ज बस्ने २० वर्षीय किशन जैसवाल फरार रहेको र उनको खोजी भइरहेको डिएसपी अर्यालले जानकारी दिए ।

दुर्घटना हुँदा कारमा सवार चितवनको राप्ती–२ गड्यौली बस्ने ५५ वर्षीय ओमकुमार श्रेष्ठ र २१ वर्षीया सुमिना श्रेष्ठ, स्कार्पियोमा सवार पर्साको वीरगञ्ज–२ छपकैया बस्ने २६ वर्षीय पूजा देवी शाह, सोही ठाउँकी ८ वर्षीया प्रियान्सी शाह, २३ वर्षीया सुरदी देवी र २१ वर्षीया निशाकुमारी शाह घाइते भएका छन् ।

यसैगरी, बीरगञ्ज–२ छपकैयाका १५ वर्षीय ओम शंकर साह, १९ वर्षीय राजिवकुमार साह, १९ वर्षकी आरती कुमारी साह, ४ वर्षीया दिव्याकुमारी साह, १६ वर्षीय सरोज शर्मा र १९ वर्षीया रोशनी शर्मा पनि घाइते भएको डिएसपी अर्यालले जानकारी दिए ।

घाइते अधिकांशको हात, खुट्टा र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । घाइते सबैलाई उपचारका लागि चितवनको भरतपुर पठाइएको छ ।

पालिका प्रेस
थप जानकारी