वर्षपछि बागमती प्रदेशको राजधानी हेटौंडामा सोमबारदेखि तौलपुल (धर्मकाँटा) पुनः सञ्चालनमा आएको छ । नारायणी यातायात व्यवसायी संघले हेटौंडा–११, थानाभ¥याङमा जिल्ला प्रशासन कार्यालय मकवानपुरको सहमतिमा मालवाहक सवारीसाधनको तौलपरीक्षण गर्ने तौलपुल पुनः सञ्चालनमा ल्याएको हो । त्रिभुवन राजपथ भएर सञ्चालन हुने सवारी साधनलाई मध्येनजर गरेर तौलपुल सञ्चालनमा ल्यायएको हो ।
२०७७ सालदेखि बन्द रहेको तौलपुल २२ भाद्रमा नारायणी यातायात व्यवसायी संघका अध्यक्ष सरोजकुमार खनाल, नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव बद्रीप्रसाद चौलागाईँ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, जिल्ला प्रहरीप्रमुख श्यामबहादुर खत्री, जिल्ला ट्राफिक प्रहरीप्रमुख रमेश विष्ट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको उपस्थितिमा पुनः सञ्चालन गरिएको हो ।
तौलपुलका सञ्चालन त्रिभुवन राजपथमा ओभरलोड नियन्त्रण गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको संघले जनाएको छ । त्रिभुवन राजपथका कतिपय स्थानमा सडक साँघुरो हुनुका साथै पुलहरुको भारवहन क्षमता सीमित रहेको र विभिन्न खण्डमा एकतर्फीरुपमा सवारी सञ्चालन गर्नुपर्ने अवस्था रहेकाले क्षमताभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनका कारण सडक तथा पुलको संरचनामा थप जोखिम उत्पन्न हुनसक्ने संघका अध्यक्ष खनालले बताएका छन् ।
धर्मकाँटाबाट सवारीसाधनको वास्तविक भार परीक्षण हुने र तोकिएको क्षमताभन्दा बढी मालसामान बोकेका सवारीसाधनलाई नियन्त्रण गर्न सहयोग पुग्ने अध्यक्ष खनालले बताए । ‘१२ चक्केसम्मका गाडीमा १५ टन, १० चक्के गाडीले पनि १५ टन, ६ चक्के र ४ चक्के गाडीले चाहिँ आफ्नो बिलबुकको क्षमताअनुसारको मालसामान लिएर टीआरपीबाट जानुहुनका निमित्त म आमव्यवसायी, आमचालक तथा सहचालकलाई आह्वान गर्दछु । यो हाम्रो राष्ट्रिय सम्पत्ति हो, यसको संरक्षण गर्नु हामी सबैको यो आपतको घडीमा महत्वपूर्ण दायित्व छ, त्यसलाई सबैले स्मरण गर्नुहोला भन्ने मेरो अनुरोध छ’ उनले बताए ।
त्यसैगरी, नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव चौलागाईँले विपद्को अवस्थामा त्रिभुवन राजपथमा ओभर लोड नियन्त्रण गर्न तौलपुल पुनः सञ्चालन गरिएको बताएका छन् । उनकाअनुसार तौलपुल नेपाल सरकारबाट जारी भएको २०७४ सालको धर्मकाँटा नियमावलीअनुसार सञ्चालन गरिएको हो । विपद्को परिस्थितिमा काठमाडौँ जोड्ने महत्वपूर्ण वैकल्पिक राजमार्गका रुपमा त्रिभुवन राजपथ प्रयोग भइरहेकाले सडकमा ओभरलोड नजाओस् र यातायात सञ्चालन सहज रहोस् भन्ने उद्देश्यले तौल परीक्षणको व्यवस्था गरिएको उनले बताए ।
अब १२ चक्के र १० चक्के सवारीसाधनले अधिकतम १५ टनसम्म मात्रै भार बोक्न पाउनेछन् । त्यस्तै, ६ चक्के तथा ४ चक्के सवारी साधनले आफ्नो बिलबुकमा तोकिएको क्षमताअनुसार मात्रै मालसामान बोक्नुपर्ने व्यवस्था गरिएको छ । संघले व्यवसायी, चालक तथा सहचालकलाई तोकिएको भारसीमा पालना गर्न आग्रह गरेको छ । विपद्को अवस्थामा वैकल्पिक मार्गकारुपमा प्रयोग भइरहेको त्रिभुवन राजपथलाई सुरक्षित र सञ्चालनयोग्य राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने संघको भनाइ छ । संघकाअनुसार राजमार्गमा क्षमताभन्दा बढी भार बोकेका सवारी साधन सञ्चालन हुँदा सडक भासिने, पुल तथा सडकका संरचनामा क्षति पुग्ने र यातायात सञ्चालनमा थप समस्या उत्पन्न हुने अवस्थालाई नियन्त्रण गर्ने उद्देश्यले २०५६ सालमा धर्मकाँटा स्थापना गरिएको थियो । स्थापना भएदेखि लामो समयसम्म सञ्चालनमा रहेको धर्मकाँटा २०७७ सालसम्म निरन्तर सञ्चालनमा थियो । त्यसपछि आन्तरिक विवाद तथा विभिन्न राजनीतिक र प्रशासनिक परिस्थितिका कारण यसको सञ्चालनमा अवरोध आएको थियो ।















































पालिका प्रेस 












प्रतिक्रिया दिनुहोस्