वर्षायाममा डुबान र सडकमा पानी जम्ने समस्याबाट प्रभावित हुँदै आएका हेटौँडा उपमहानगरपालिका–४ का बासिन्दाले पछिल्लो समय राहतको अनुभूति गर्न थालेका छन् । वडा कार्यालयले सडक स्तरीकरण, ढल व्यवस्थापन तथा कालोपत्रे ओभरलेल्यापिङलाई प्राथमिकतामा राखेर काम अघि बढाएसँगै वडा क्रमशः डुबानमुक्त बन्ने दिशामा अघि बढेको छ ।
वडा अध्यक्ष नवीन सिग्देलका अनुसार हुप्रचौर स्थित पानी ट्याङ्कीबाट पशुपति मन्दिर जाने सडक स्तरीकरणको काम अघि बढिसकेको छ । हेटौँडा उपमहानगरपालिका र सडक बोर्डको साझेदारीमा बजेट व्यवस्थापन गरिएको उक्त सडकको टेन्डर प्रक्रिया पूरा भई निर्माण कार्यसमेत अघि बढेको उनले जानकारी दिए । विशेषगरी वर्षायाममा पानी जम्ने तथा आवागमनमा समस्या हुने हुप्र पानी ट्याङ्की–पशुपति मन्दिर सडक स्तरीकरण भएपछि वडा नम्बर ४ का प्रमुख डुबानग्रस्त क्षेत्रको समस्या धेरै हदसम्म समाधान हुने अपेक्षा गरिएको छ ।
यसैगरी हेटौँडा बजार क्षेत्रको व्यस्त अजरअम्बर रोडमा कालोपत्रे ओभरलेपिङ तथा खोपे गल्लीमा समेत कालोपत्रे ओभरल्यापिङको काम अघि बढाउने तयारी गरिएको अध्यक्ष सिग्देलले बताए । यसअघि पारिजातपथ दाजुभाइ अगाडिको क्षेत्र, प्रजातान्त्रिकथ स्थित ब्रह्मदिक अगाडि, गर्दोही क्षेत्र, हेटौँडा क्याम्पस जाने सडक तथा गरुढपथ भित्री सडकमा डुबानको समस्या मुक्त गरिएको अध्यक्ष सिग्देलले जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्ष २०८३÷०८४ मा सडक स्तरीकरण, ढल व्यवस्थापन, सडक सुधार तथा अन्य पूर्वाधार निर्माणका कामलाई तीव्रता दिइएको छ। वडाले विभिन्न सडक स्तरीकरण, ढल तथा पेटी निर्माण र कच्ची सडक सुधारका योजनालाई प्राथमिकतामा राखेको छ । वर्षायाममा सडकमा पानी जम्ने, खाल्टाखुल्टी हुने तथा आवागमनमा समस्या भोग्दै आएका स्थानीयवासीले सडक स्तरीकरण र ढल व्यवस्थापनका काम अघि बढ्नुलाई राहतको विषयका रूपमा लिएका छन् । पछिल्लो समय भइरहेका पूर्वाधार सुधारका कामले स्थानीयस्तरमा सकारात्मक अपेक्षा बढाएको देखिन्छ ।
स्थानीयवासीका लागि विकासको अर्थ नयाँ संरचना निर्माण गर्नु मात्र नभई दैनिक जीवनमा आइपर्ने समस्या समाधान हुनु पनि हो। डुबान नियन्त्रण, सडकको गुणस्तर सुधार, पानीको सहज निकास र नियमित आवागमनलाई सहज बनाउने कामले प्रत्यक्ष रूपमा नागरिकको दैनिक जीवनसँग जोडिएको विकासको अनुभूति गराउने देखिन्छ। अध्यक्ष सिग्देलले विकासका काममा भाषणभन्दा परिणामलाई प्राथमिकता दिइएको बताउँदै आएका छन्। हेटौँडा–४ मा सडक, ढल, ज्येष्ठ नागरिक कक्षलगायतका पूर्वाधार निर्माणका कामलाई निरन्तरता दिइएको उनको भनाइ छ।
हुप्र पानी ट्याङ्कीबाट पशुपति मन्दिर जाने सडक स्तरीकरण सम्पन्न हुनुका साथै बाँकी सडक तथा ढल व्यवस्थापनका कामले समेत निरन्तरता पाए हेटौँडा–४ क्रमशः डुबानमुक्त बन्ने अध्यक्ष सिग्देलले बताए ।














































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्