सडक डिभिजन कार्यालय हेटौंडाले मकवानपुर र बाराका मुख्य राजमार्गका विभिन्न खण्डमा सडक तथा ट्राफिक सुरक्षा सुधारका लागि ठेक्का आह्वान गरेको छ । कार्यालयले मंगलबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै त्रिभुवन राजपथ र पूर्व–पश्चिम राजमार्ग अन्तर्गतका पाँच वटा सडक खण्डमा सडक सुरक्षा सम्बन्धी काम गर्न सिलबन्दी दरभाउपत्र आह्वान गरेको हो ।
सडक डिभिजन कार्यालयका अनुसार त्रिभुवन राजपथअन्तर्गत् लामिडाँडा–सीमभञ्ज्याङ–पालुङ– टिस्टुङ–सोप्याङ खण्डमा सडक सुरक्षा सुधारका काम गरिनेछ । यो खण्डका लागि भ्याट र कन्टिन्जेन्सीबाहेक ८६ लाख १६ हजार ८६९ रुपैयाँ लागत अनुमान गरिएको छ । त्यस्तै, हेटौंडा–सामरी– भैँसे–लामिडाँडा खण्डमा सडक तथा ट्राफिक सुरक्षा सुधारका लागि ८६ लाख १९ हजार ३८० रुपैयाँको लागत अनुमान गरिएको छ । पूर्व– पश्चिम राजमार्गअन्तर्गत् हेटौंडा– सरस्वती खोला–लोथर खण्डका लागि ८६ लाख २० हजार ५०२ रुपैयाँ तथा चुरे–रातोमाटे–हेटौंडा खण्डका लागि ८६ लाख २० हजार २७४ रुपैयाँ लागत अनुमान गरिएको छ । बारा जिल्लाअन्तर्गत् पर्ने पथलैया– चुरे खण्डमा सडक सुरक्षा सुधारका लागि ८६ लाख १९ हजार ५६७ रुपैयाँ लागत अनुमान गरिएको कार्यालयले जनाएको छ ।
सडक डिभिजनले राजमार्गमा सडक सुरक्षा पूर्वाधार सुधार, ट्राफिक व्यवस्थापन तथा यात्रु र सवारीसाधनको आवागमनलाई सुरक्षित बनाउने उद्देश्यले यी काम अघि बढाउन लागेको हो । मुख्य राजमार्गमा सवारी साधनको चाप बढ्दै गएको र दुर्घटनाको जोखिमसमेत रहने भएकाले सडक सुरक्षा सुधारका कामलाई प्राथमिकता दिइएको कार्यालयको सूचनामा उल्लेख छ । इच्छुक तथा योग्य निर्माण व्यवसायीले आगामी २१ असोजसम्म बोलपत्र फारम खरिद गर्न सक्नेछन् । बोलपत्र २२ असोज दिउँसो १२ बजेसम्म सडक डिभिजन कार्यालय हेटौंडामा सिलबन्दीरुपमा पेस गर्नुपर्नेछ । प्राप्त बोलपत्र सोही दिन दिउँसो १ बजे खोलिने कार्यालयले जनाएको छ ।
बोलपत्रसम्बन्धी थप प्राविधिक तथा प्रक्रियागत जानकारी सडक डिभिजन कार्यालय हेटौंडाको वेबसाइट तथा कार्यालयबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ ।















































पालिका प्रेस 













प्रतिक्रिया दिनुहोस्