पूर्वी मकवानपुरको बागमती गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन हुने विकास निर्माणका योजनामा सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट प्रयोग गर्ने भएको छ । गाउँपालिकाले हेटौंडा– ९ स्थित हेटौंडा सिमेन्ट उद्योग लिमिटेडसँग सम्झौता गर्दै ५० किलोका ५० हजार ६२८ बोरा ओपिसी सिमेन्ट खरिद गर्ने भएको हो । सम्झौताअनुसार गाउँपालिकाले उद्योगलाई तीन करोड ४६ लाख रुपैयाँ भुक्तानी गर्नेछ । गाउँपालिका अध्यक्ष सर्केश घलान र हेटौंडा सिमेन्ट उद्योग लिमिटेडका निमित्त महाप्रबन्धक भक्तिराम श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

गाउँपालिका खरिदकर्ता र हेटौंडा सिमेन्ट उद्योग आपूर्तिकर्ता रहने गरी दुई सरकारी संस्थाबीच जिटुजी (सरकार–सरकार) प्रक्रियामार्फत् सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ । सम्झौता २०८४ जेठ मसान्तसम्म कायम रहनेछ । आर्थिक वर्ष २०८३÷८४ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत् गाउँपालिका क्षेत्रमा सञ्चालन हुन विभिन्न विकास निर्माणका योजनाका लागि आवश्यक ओपिसी सिमेन्ट खरिद तथा आपूर्ति गर्न प्रचलित कानुन, गाउँ कार्यपालिकाको निर्णय तथा स्वीकृत नीति, बजेट र कार्यक्रम अनुसार सम्झौता गरिएको अध्यक्ष घलानले जानकारी दिएका छन् ।

सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ तथा आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्वसम्बन्धी प्रचलित कानुन अनुसार सम्झौता गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले जानकारी दिए । विकास निर्माणमा सरकारी स्वामित्वको उद्योगको उत्पादन प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्झौता गरिएको उनले बताए । पालिका अध्यक्ष घलानले सरकारी निकायका विकास निर्माणमा हेटौंडा सिमेन्टको प्रयोगलाई संघीय सरकारले समेत प्रोत्साहन तथा अनिवार्य गर्ने व्यवस्था गरे सरकारी स्वामित्वका उद्योगको उत्पादनको प्रयोग बढ्ने बताए । स्थानीय तहले स्वदेशी उत्पादनको प्रयोग र सरकारी उद्योगलाई सहयोग गर्ने उद्देश्यले यस्तो सुरुवात गरेको उनको भनाई छ ।

हेटौंडा सिमेन्ट उद्योग लिमिटेडका निमित्त महाप्रबन्धक श्रेष्ठले स्थानीय तहले सम्झौता गरेर हेटौंडा सिमेन्ट खरिद गरेको यो पहिलोपटक भएको बताए । उनकाअनुसार उद्योगसँग हाल ६० हजार बोरा सिमेन्ट मौज्दात छ । उनले गाउँपालिकाको निर्णयलाई सकारात्मकरुपमा लिएको बताएका छन् । सम्झौता कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’, गाउँपालिका अध्यक्ष घलान, प्रमुख प्रशासकीय अधिकृत दर्जी, प्रवक्ता कमानसिं प्राखिन, गाउँपालिका कर्मचारी तथा हेटौंडा सिमेन्ट उद्योगका प्रतिनिधिको सहभागिता थियो । बागमती गाउँपालिकाले विकास निर्माणका लागि आफ्नै लगानीमा क्रसर उद्योग सञ्चालन गर्नुका साथै आवश्यक उपकरण खरिद गरेको छ ।

गाउँपालिकाले आफ्ना मेशिन उपकरण संचालन कार्यका लागि आवश्यक इन्धनको व्यवस्था पालिकामै गरेको जनाएको छ । हेटौंडाको लामसुरेमा वि.सं २०३३ मा स्थापना भएको हेटौंडा सिमेन्ट उद्योगले विसं २०४३ देखि व्यावसायिक उत्पादन सुरु गरेको हो ।

पालिका प्रेस
थप जानकारी