मकवानपुरको चित्लाङ बाख्रा विकास फार्मले ७८ औं फार्म दिवस बनाएको छ । वि.सं. २००१ मा सरकारले भेडा विकास फार्मको रुपमा स्थापना गरेको फार्मले २० फागुनमा दिवस मनाएको हो । बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाईको प्रमुख आतिथ्यमा भएको समारोहमा बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री इन्द्रमायाँ गुरुङको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा इन्द्रसरोवर गाउँपालिका मकवानपुरका अध्यक्ष जीवन लामा, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. मोगल प्रसाद शाह, पुर्व फार्म प्रबन्धक मेघराज ढकाललगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रममा थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकामा गठित कृषक समूहका अध्यक्ष तथा पदाअधिकारीहरु, जनप्रतिनीधि, संघसंस्थाका प्रतिनीधि र किसानहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

बागमती प्रदेशकै एक मात्र बाख्रा विकास फार्म प्रदेशकै बाख्रा उत्पदनको स्रोतको रुपमा रहेको कार्यक्रमका वक्ताहरुले बताएका थिए । पर्यटकीय क्षेत्रमा रहेको फार्मले विभिन्न चुनौतिकाबीच गरेको प्रगतीलाई कार्यक्रमका अतिथीहरुले समिक्षा र चर्चा गरेका थिए ।

दुई कर्मचारीलाई पुरस्कार

फार्म दिवसको अवसरमा निरन्तर सेवारत दुई कर्मचारी पुरस्कृत गरिएको छ ।

स्थायी सेवा प्राविधिक तुलसीराम बास्तोला र चमेली रुम्बालाई जनही क्रमशः ५ हजार र २ हजार ५ सय नगदसहित पुरस्कृत गरिएको हो । लामो समयदेख फार्ममा कार्यरत उनीहरुको काम, अनुशासनलगायतको सूचकको आधारमा पुरस्कृत गरिएको फार्मका प्रबन्धक डाक्टर बब्लु डाकुरले बताए ।

कर्मचारीहरुलाई प्रोत्साहन गर्न यस किसिमको कार्यक्रम प्रभावकारी हुने डाक्टर ठाकुरको भनाइ छ ।

यस्तो छ, चित्लाङ बाख्रा विकास फार्मको परिचय

चित्लाङ बाख्रा विकास फार्म समुद्री सतहबाट १ हजार ७ सय मिटरको उचाईमा रहेको छ । फार्म थाहा नगरपालिका वडा नम्बर १० र चरणक्षेत्र ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मा फैलिएको छ । वि.सं.२००१ सालमा भेडा विकास फार्मको रूपमा स्थापना भएको यो फर्मलाई वि.सं. २०५८ सालबाट बाख्रा विकास फार्मको रुपमा विकास गरिएको हो । फार्मलाई मन्त्रीपरिषद बैठकले बाख्रा विकास फार्मको रुपमा नामाकरण गरेको हो ।

तीनसय ५ रोपनी क्षेत्रफलमा फैलिएको फार्मको जमिन भिर, पाखा, डाँडा, खोल्सा, चरन क्षेत्र र खेतवारीको संरचनामा समेत रहेको छ । स्थापनाको बेला स्थानीय ‘कागे’ जातका भेडापालनबाट फार्मले सेवा प्रारम्भ गरेको हो । आर्थिक वर्ष २०४३/०४४ बाट राम्बुलेट र मेरिनो जातका थुमाबाट प्रजनन् गराई उत्पादित वर्णशंकर पाठापाठीहरु व्रिडर कृषकहरुलाई वितरण गर्दै आएको थियो । सरकारले संचालन गर्दै आएको उक्त फार्म वि.सं. २०५० भाद्र २० गतेबाट दश वर्षसम्म भाडामा सञ्चालन गर्न मकवानपुर मिट प्रोसेसिङ सेन्टरलाई हस्तान्तरण गरेको भएपनि त्यसको एकवर्ष बित्ने वित्तिकै वि.सं. २०५१ असोज १२ मा अत्यन्त जिर्ण अवस्थामा निजी क्षेत्रबाट पुनः सरकारको स्वामित्वमा फिर्ता ल्याइएको थियो । तत्कालिन सरकारकै निर्णयबाट फार्म भाडामा दिने र फिर्ता लिने दुवै निर्णय भएको दस्तावेज छ ।

विभागीय नीति अनुसार आ.व. २०५२।०५३ बाट सानन बाख्रा, अंगोरा खरायो र कक्सफुट घाँसको स्रोत केन्द्रको रुपमा फार्ममा कार्य भएको थियो । आ.व. ०५६।०५७ बाट भेडा हटाइए र पशु सेवा विभागको विभागीय निर्णय अनुसार वि.सं. २०५६ साउन १६ गतेबाट बाख्रापालनको शुरुवात भएको हो । मन्त्रीपरिषदको निर्णय अनुसार वि.सं. २०५८ सालबाट यस फार्मलाई विधिवत रूपमा बाख्रा विकास फार्ममा रूपान्तरित गरिएको थियो ।

संघीयता कार्यान्वयनसंगै वि.सं. २०७५ फाल्गुन १९ देखि यो फार्म बागमती प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय मातहतमा रही संचालन हुदै आएको छ ।

दरबन्दीको आधा मात्र जनशक्ती

चित्लाङ बाख्रा विकास फार्मले दरबन्दी अनुसार जनशक्ती अभाव रहेको छ । फार्मले आयोजना गरेको ७८ औं फार्म दिवसको अवसरमा फार्मको अवस्थाको विषयमा प्रबन्धक डाक्टर बब्लु ठाकुरले गरेको प्रस्तुतिकरणमा यस्तो देखिएको हो ।

प्रबन्धकः बब्लु ठाकुर

फार्मको १५ जना स्वीकृत दरबन्दी रहेपनि ७ जनामात्र पदपूर्ति रहेको छ । दरबन्दी अनुसार पशु विकास अधिकृत १ जना, पशु सेवा प्राविधिक २ जना, नायब पशुसेवा प्राविधिक ४ जना, खरिदार १, सहायक लेखापाल १, कार्यालय सहयोगी ५ र १ जना हलुका सवारी चालक हुनुपर्ने भएपनि ४ कार्यालय सहयोगी, १ सवारी चालक र ३ जना नायब पशुसेवा प्राविधिक पद रिक्त रहेको छ ।

फार्मका लागि ३ जना नायब पशु सेवा प्राविधिक लोकसेवा आयोगमा माग गरिएको प्रबन्धक ठाकुरले जानकारी दिए ।

बाख्रासंगै भेडा र खरायोपालन शुरु

चित्लाङ बाख्रा विकास फार्ममा अहिले ४ सय १७ पशुवस्तु रहेका छन् । फार्ममा ५ जातका बाख्रा छन् ।सानेन्, खरी, सानेन क्रस र सिन्हाल गरी अहिले २ सय ९८ वटा बाख्रा रहेको प्रबन्धक डाक्टर ठकुरले जानकारी दिए ।

फार्ममा यसवर्षबाट भेडा र खरायो पनि पाल्न थालिएको छ । अहिले बरुवाल जातको ५६ वटा भेडा फार्ममा छन् । सोभियत चिनचिला र क्यालफोर्निया ह्वाइट जातका गरी कुल ६३ वटा खरायो पनि रहेका छन् ।

नियमित उपचार र सेवामुलक कार्यक्रम निरन्तर

चित्लाङ बाख्रा विकास फार्मले फार्मको साथै सेवा क्षेत्रमा समेत प्राविधिक तथा उपचारात्मक सेवा प्रवाह गरिरहेको छ । फार्मले बाख्राहरुका लागि आन्तरिक तथा बाह्यि परजीवी नियन्त्रणका उपचारका कार्यक्रमहरु संचालन गरिरहेको ठाकुरले बताए । विभिन्न तालिमहरु समेत संचालन गरेको छ ।

स्थानीय खरी जातका बाख्राहरूको न्यूक्लियस हर्ड व्यवस्थापन गरी जातिय संरक्षण गर्ने, स्थानीय शुद्ध खरी जातका वोका र पाठीहरू उत्पादन गरी व्यवसायिक बाख्रापालक कृषक तथा कृषक समुहहरूमा वितरण गर्ने, सानन जातका बाख्राहरूको व्यवस्थापन गरी पाठापाठी उत्पादन गर्ने र व्यवसायिक कृषक तथा कृषक समुहहरूमा वितरण गर्ने, फार्म आसपासका क्षेत्रमा बाख्राहरूको वाह््य स्रोत विकास कार्यक्रम सञ्चालन गर्नेे फार्मको उद्देश्य रहेको छ । साथै भुईं तथा डालेघाँसको विकास र विस्तार गर्दै लाने, बाख्रापालक कृषकहरूलाई बाख्रापालनका प्रविधहरू हस्तान्तरण गर्ने । फार्मलाई डेरीगोट (सानन) को स्रोतकेन्द्रको रूपमा विकसित गर्ने पनि फार्मको उद्देश्य हो ।


प्रबन्धक डाक्टर ठाकुर भन्छन्–‘उद्देश्य अनुसार काम गरिरहेका छौं, यसमा सबै पक्षको सहयोग र सहकार्य चाहान्छौं ।’ उद्देश्य प्राप्तीको लागि सबैको सहकार्य खाँचो रहेको पनि उनले बताए ।

अनुसन्धान केन्द्रको रुपमा विकास गर्न सुझाव

बाख्रा विकास फार्मलाई प्रादेशिक बाख्रा अनुसन्धान केन्द्रको रुपमा विकसित गर्दै लैजानुपर्ने सुझाव दिइएको छ ।

फार्म दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा फार्म प्रबन्धक डाक्टर बब्लु ठाकुरले गरेको प्रस्तुतिकरणकाबीच यस्तो सुझाव दिइएको हो । भुगोल अनुसारको बाख्राको प्रजन्न, स्वास्थ्य, आहारा तथा खोर व्यवस्थापन सम्बन्धी प्याकेज बनाउने तथा सम्बन्धीत कृषक माझ लैजान पनि फार्मको तर्फबाट सुझव पेश गरिएको छ । बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाई तथा राज्यमन्त्री इन्द्रमायाँ गुरुङको उपस्थितीमा भएको कार्यक्रममा बाख्राको अनुसन्धान तथा विकास वारे राष्ट्रिय तथा अन्तराष्ट्रिय तालिममा गर्ने र गराउन पनि सुझाव दिइएको छ ।

त्यस्तै व्यवसायिक कृषकहरुलाई प्रविधि हस्तान्तरण तथा परामर्श दिने कार्यका लागि पनि सुझाव दिइएको छ ।

दिनेश दर्पण
थप जानकारी