घामपानी दुवै छिर्ने अत्यन्त साँघुरो कतरे छाप्रोमा बस्दै आएका प्रयास तामाङ दम्पतीले चिटिक्क नयाँ घर पाएका छन् । ‘नयाँ घर पाउँदा दंग परेका छौं,’ एकै स्वरमा उनीहरूले भने ।

प्रयास र शर्मिला तामाङ दम्पतीलाई हेटौंडा उपमहानगरपालिकाले कतरे छाप्रोनजिकै जस्तापाताको छाना भएको पक्की घर बनाइदिएको हो । घामपानी दुवै छिर्ने अर्काको कतरे घरमा बस्दै आएका तामाङ दम्पतीको विजोग देखेपछि हेटौंडा उपमहानगरपालिकाले ३ लाख रुपैयाँ लगानीमा घर बनाइदिएको हो । उक्त पक्की घर हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा र वडाध्यक्ष अनिलकुमार बानियाँले एक समारोहबीच उद्घाटन गर्दै तामाङ दम्पतीलाई प्रवेश गराएका हुन् । हेटौंडा उपमहानगरपालिका–१८ मा ५ धुर जग्गामा उक्त घर निर्माण गरिएको हो ।

मकवानपुरकै राक्सिराङ गाउँपालिकाको सरिखेतबाट हेटौंडा उपमहागनगरपालिका–१८ मा अर्काको घरमा बसेका तामाङ दम्पतीका २ छोराछोरी छन् । भूमिहीन तामाङ दम्पतीले टोल छिमेकमा मेला मजदुरी गरेर पेट पाल्दै आएको छ । हेटौंडा उपमहागनगरपालिकाले बनाइदिएको पक्की घरमा बस्न पाउँदा आफूहरू निकै दंग परेको उनीहरूले सुनाए । ‘घामपानी नछिर्ने पक्की घरमा बस्न पाउँदा खुसी लागेको छ,’ शर्मिलाले भनिन्, ‘यस्तो घरमा बस्न पाइएला भन्ने सोचेकै थिएनौं ।’

हेटौंडा उपमहानगरपालिकाले वडा कार्यालयको सिफारिसमा घरवारविहीन विपन्न परिवारलाई बस्नका लागि पक्की घर बनाइदिने गरेको छ । उक्त वडामा यसअघि धिमाल समुदायका दुई परिवारलाई घर बनाएर हस्तान्तरण गरिसकेको छ । त्यसैगरी हेटौंडा उपमहानगरपालिका–११ सुकुम्बासी बस्तीमा एक परिवारलाई घर बनाइदिएको छ । ‘कोही नभएको र विपन्न परिवारको साथमा स्थानीय सरकार छ भन्ने सन्देश दिन चाहन्छौं,’ उपमहानगरपालिका प्रमुख लामाले भनिन् ।

पालिका प्रेस
थप जानकारी