व्यक्तिगत घटना दर्ता सप्ताहको अवसरमा थाहा नगरपालिकाले विविध कार्यक्रम सञ्चालन गरेको छ । प्रत्येक वर्षको १ वैशाखदेखि सातदिनसम्म मनाइने दिवसलाई नगरपालिकामा व्यक्तिगत घटना दर्ता प्रचार ब्यानर अनावरण गरेर शुरुवात गरिएको थियो ।
सप्ताहको अवसरमा नगरपालिकाको १२ वटै स्वास्थ्य संस्थाबाट जन्मदर्ता सम्बन्धी प्रि–इन्रोलमेन्ट कार्यको शुभारम्भ गरिने भएको छ । सो कार्यक्रमलाई अघि बढाउनका लागि स्वास्थ्य संस्था प्रमुखहरुलाई एकदिने अभिमुखीकरण गरिएको छ । कार्यक्रममा नगरका एक प्राथमिक स्वास्थ्य केन्द्रसहित स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र तथा शहरी स्वास्थ्य केन्द्रका प्रमुखहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका सहभागीहरुलाई सूचना अधिकृत सुरज कुमार भुजेल, एमआइएस अपरेटर रुपक कार्कीलगायतले सहजीकरण गरेका थिए । नगर क्षेत्रमा जन्मिएका बालबालिकाको समयमै जन्मदर्ता गराइ व्यक्तिगत घटनादर्तातर्फ नागरिकलाई आकर्षित गर्ने उद्देश्यले स्वास्थ्य संस्थामा जन्मने बित्तिकै प्रि–इन्रोलमेन्ट गरिने कार्य अघि बढाइन लागेको एमआइएस अपरेटर रुपक कार्कीले जानकारी दिए । यसरी प्रि–इन्रोलमेन्ट गर्दा तथ्याङ्कहरुको त्रुटिमा कमी आउने कार्कीको भनाइ थियो ।
अभिमुखीकरण कार्यक्रममा थाहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत माधव विक्रम मल्ल, सामाजिक विकास अधिकृत अनिल लामिछाने, सूचना प्रविधि अधिकृत भगिरथ कार्कीलगायतको उपस्थिती रहेको थियो ।
यसैबीच व्यक्तिगत घटना दर्ता सम्बन्धी प्रचारप्रसारलाई पनि जोड दिइएको छ । प्रत्येक वडाहरुमा फ्लेक्स ब्यानर तथा स्थानीय सञ्चार माध्यममार्फत प्रचार प्रसारको कार्यलाई तिब्रता दिइएको फिल्ड सहायक अच्युत विडारीले जानकारी दिए । नागरिकहरुलाई व्यक्तिगत घटना दर्ता सम्बन्धी जानकारी दिने उद्देश्यले प्रचारप्रसार कार्यलाई प्राथमिकताको साथ अघि बढाइएको उनले बताए ।

















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्