खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं. १० का वडाध्यक्ष अर्जुन कुमार पुरीले महिला वडा सचिवबाट कार्य गर्न असजिलो हुने भन्दै पुरुष कर्मचारी नै वडा सचिव व्यवस्था गर्न प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गरेका छन् ।

वडाध्यक्ष पुरीले मंगलबार हलेसी तुवाचुङका प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गर्दै कामको चाप बढी हुने र जनप्रतिनिधि नयाँ भएको कारणले महिला वडा सचिवबाट कार्य गर्न असजिलो हुने भएको भन्दै पुरुष कर्मचारी पठाउन लेखेका छन् ।

यो वडा भौगोलिक तथा जनसङ्ख्याको हिसाबले ठुलो वडा रहेको साथै यस वडाको साबिक ८ र ९ लाई लक्षित गरी हप्ताको एक दिन नवलपुरबाट सेवा प्रवाह गर्ने र पञ्जीकरण, सामाजिक सुरक्षा भत्ता अनलाइन प्रणालीबाट प्रवाह भइरहेको भइरहेकोले, कामको चाप बढी हुने जनप्रतिनिधिहरू नयाँ भएको कारणले महिला वडा सचिवबाट कार्य गर्न असजिलो हुने भएको कारणले यस वडामा पुरुष कर्मचारी नै वडा सचिव व्यवस्था गरी दिन हुन यस वडाको मिति २०७९ जेठ ३० गतेको वडा समिति बैठकको निर्णयानुशार अनुरोध छ पत्रमा भनिएको छ ।

महिला कर्मचारीको क्षमतामाथि नै प्रश्न उठ्ने गरी किन पुरुष कर्मचारी नै माग्नु भएको हो भन्ने प्रशासनको प्रश्नमा वडाध्यक्ष पुरीले महिला कर्मचारीसँग सानो बच्चा भएको र बाटो अफ्ठेरो भएकोले असहज हुन्छ कि भनेर भनेको बताएका छन् । ‘नौलोपुरमा हामीले हप्ताको एकचोटी सेवा सुविधा दिने कुरा थियो’ उनले भने, ‘उहाँसँग सानो बच्चा भएको र बाटो अफ्ठेरो भएकोले अलि असहज हो कि भन्ने कुरा गरेको हजुर’

तर पत्रमा भने महिला कर्मचारीको समस्याबारे केही उल्लेख गरिएको छैन । जसले गर्दा महिला कर्मचारीको कार्यक्षमतामाथि नै जनप्रतिनिधिबाट प्रश्न उठेको हो कि भन्दै प्रश्न उठेको छ ।

पालिका प्रेस
थप जानकारी