हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजित बजेटमा १९ वटै वडाले पाउने रकम बढाउने भएको छ ।

आगामी आव २०७९/०८० मा १९ वडामा पाँच वर्षदेखि तोकिएको सिलिङभन्दा ५ करोड ७० लाख रुपियाँ थपिने भएको हो ।

चालु आर्थिक वर्षमा वडा तहमा तोकिएको सिलिङमा बजेटले विकास निर्माणको काममा असहज भएको भन्दै नवनिर्वाचित नगर प्रमुख मिनाकुमारी लामाले १९ वटै वडाको सिलिङमा ३०/३० लाख रुपैयाँ वृद्धि गराएकी हुन् ।

०७४ देखि बजेट सिलिङमा एकरुपता भएपछि मेयर लामाको अध्यक्षतामा जेठ २६ गते बसेको स्रोत अनुमान समितिको बैठकले प्रति वडा ३०/३० लाख रुपैयाँ सिलिङमा थप गरेर पठाउने निर्णय गरेको थियो ।

थपिएको रकमले विकासका कामलाई सहज बनाउन मद्दत पुग्ने मेयर लामाको दाबी छ । बजेट सिलिङ तयार गरेर वडाहरुमा तयारीका लागि पठाएको उपमहानगरले गएको ५ वर्षमा पहिलो पटक नयाँ नेतृत्वसँगै बजेट सिलिङमा वृद्धि गरेको हो ।

सिलिङ थप गरेसँगै हेटौंडा उपमहानगरपालिकाले १९ वटै वडाका लागि ३६ करोड ५० लाख रुपैयाँ बजेट पठाएको छ । चालु आर्थिक वर्षहरूमा उपमहानगरका वडाहरूले गरेको कार्यक्रम तथा योजनाहरुको कार्यान्वयनको आधारमा बजेट सिलिङ थप गरेर पठाइएको मेयर लामाले बताइन ।

वडागत बजेट सिलिङ तोकिएर वडाहरुमा गएसँगै योजना छनोटको कार्यहरु चलिरहेको छ । वडामा टोल विकास संस्थामार्फत प्रतिनिधित्व रहने गरी योजना छनोटको कार्यहरू भइरहेको हेटौंडा ८ का अध्यक्ष रामकृष्ण थापाले बताए ।

वडाहरुवाट बजेट सिलिङ आएपछि हेटौंडा उपमहानगरपालिकाले असार १० गते नगर परिषद् भेलाको आयोजना गरेर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।

वडा र विविध व्यवस्थापनका लागि वडागतरुपमा ५/५ लाख रुपैयाँको बजेट सिलिङ तयार पारिएको हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले बताए । १९ वटै वडाका लागि वडा व्यवस्थापनतर्फ ९५ लाख रुपैयाँ र विविध व्यवस्थापनकातर्फ पनि ९५ लाख रुपैयाँको बजेट सिलिङ तयार पारिएको हो ।

सिलिङ अनुसार वडा नम्बर १, १२, १३, १४ ,१५, १६ र १७ मा २/२ करोड १०/१० लाख बजेट सिलिङ तोकिएको छ भने वडा नम्बर २, ४, ५, ६, ७, ८, ९, १० र ११ मा १ करोड ८५ लाख रुपैयाँ तोकिएको छ ।

सिलिङअनुसार वडा नम्बर १८ मा २ करोड २५ लाख र वडा नम्बर १९ भने २ करोड ५० लाख रुपैयाँको बजेट सिलिङ तयार गरिएको उपमाहानगरले जनाएको छ ।

३८ करोड ४० लाख रुपैयाँको बजेट सिलिङ रहेकोमा ३६ करोड ५० लाख रुपैयाँ बराबरको मात्र बजेट सिलिङ तयार गरिएको प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले बताए ।

वित्तीय समानीकरण, राजश्व बाँडफाँट संघीय सरकार, राजश्व बाँडफाँट प्रदेश सरकार र आन्तरिक स्रोतमा २५/२५ प्रतिशत बजेट सिलिङ रहेको छ । जसमा वडागतरुपमा आन्तरिक स्रोतबाट ४६ लाख २५ हजार रुपैयाँदेखि ६५ लाख रुपैयाँको दरले बजेट सिलिङ तयार गरिएको छ ।

पालिका प्रेस
थप जानकारी