थाहा नगरपालिकाको आयोजना तथा जिल्ला युवा समितिको कार्यालय मकवानपुरको संयोजनमा थाहा नगरपालिकामा पहिलो पटक आयोजना भएको नमूना युवा नगरसभाको अभ्यास सम्बन्धी ४ दिवसीय प्रशिक्षण कार्यक्रमसम्पन्न भएको छ ।

५ असारदेखि सुरु भएको कार्यक्रम ४ दिन संचालन भइ नमूना नगर सभा संचालन भएपश्चात समापन भएको हो । नमूना नगरसभालाई नगर सभा अध्यक्ष तथा नमुना युवा नगर प्रमुख बिस्मिता गोपालीले संचालन गर्दै नमूना नगर सभा उपाध्यक्ष ओमस प्रधानले बजेट बक्तब्य, बिनियोजन बिध्येयक २०७८ र आर्थिक विध्येयक २०७८ पेश गर्दै पारित भएको थियो ।

थाहा नगरपालिकाका १२ वटै वडाका ४५ जना युवाहरुलाई युवा निति, नेतृत्व, राज्यप्रणाली, नेतृत्व बिकाश, युवा मार्गदर्शन, नगरपरिषद, यसको संरचना लगायतका बिषयबस्तुमा प्रशिक्षण प्रदान गरिएको जिल्ला युवा समितिका अध्यक्ष शिबहरि दाहालले जानकारी दिए ।

अध्यक्ष दाहालले तालिममा युवा जीवन र मार्गदर्शन, लोकतन्त्र र लोकतान्त्रिक संस्कृति, सूचनाको हक, नेपालमा युवा संसदको अवधारणा र अभ्यास, युवा क्लब र युवा क्लब गठन प्रक्रिया, स्थानिय योजना निर्माणका सात तहहरु र वस्तीस्तरको योजना निर्माणमा युवा क्लबको भूमिका, नगरसभा संचालन सम्बन्धी कार्यविधि तथा गाउँ÷ नगर सभामा पालना गर्नुपर्ने नियमहरुका विषयमा समेत राष्ट्रिय प्रशिक्षक मुना तिवारी र अशोक खनालले सहजीकरण गर्नुभएको जानकारी दिए ।

प्रशिक्षण कार्यक्रमको थाहा नगरपालिकाको नगर प्रमुख बिष्णु बहादुर बिष्टले उद्घाटन गरेका थिए । कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली, विभिन्न वडाका वडा अध्यक्षहरु, जिल्ला युवा समितीका अध्यक्ष शिबहरि दाहाल, सामाजिक बिकास शाखाका प्रमुख अनिल लामिछाने, समाजसेवी बिमल कुमार ढकाल, शिक्षाबिद् सानोभाइ कार्की, युवा अभियान्ता दिनेश कार्की, थाहानगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान लगायतको उपस्थिति रहेको थियो ।

पालिका प्रेस
थप जानकारी