अब सबै प्रदेशहरुले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा एकै किसिमबाट लिने भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतमा सातवटै प्रदेशका यातायात मन्त्रीहरुको यातायातको अन्तरतह समन्वय बैठकले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ अनुसार परीक्षा लिने निर्णय गरेको हो ।

यातायात मनत्रालय स्रोतका अनुसार १ जेठ २०७८बाट लागू हुने गरी यातायात व्यवस्था विभागले जारी गरेको अंकभारमा आधारित प्रणालीको लाइसेन्स परीक्षा लिन सबै प्रदेश सहमत भएका हुन् । अहिलेसम्म बाग्मती प्रदेशले नै यो प्रणालीबाट परीक्षा लिन चासो दिएको थिएन । केही प्रदेशमा सुरु भएपनि अन्योलहरु कायम थिए ।

अब सबै प्रदेशमा लिखित र प्रयोगात्मक (ट्रायल) दुवै परीक्षाको मोडालिटी एकैनासको हुनेछ । पुरानो प्रणालीअनुसार प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुन्छ । तर नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक-फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ । अर्थात् सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनुपर्दैन ।

नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । विभागले ‘क’ ‘ख’ र ‘ट’ वर्गको मोटरसाइकल, स्कुटर र मोपेडसहित ‘ख’ वर्गको कार, जिप र डेलिभरी भ्यानको लाइसेन्सको लिखित परीक्षामा सोधिने प्रश्नपत्र सार्वजनिक भएको छ ।

त्यही संग्रहभित्रबाट लिखित परीक्षामा अब ४/४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ । ती प्रश्नको अंकभार सय नम्बरको हुनेछ । नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्ने हुन्छ ।

३० मिनेटको परीक्षामा उत्तीर्ण हुन न्यूनतम ७० अंक ल्याउनुपर्नेछ । नयाँ व्यवस्थाअनुसार यातायात व्यवस्था विभागले अब लाइसेन्सका लागि अंकभारमा आधारित परीक्षा प्रणाली लागू हुन्छ ।

पालिका प्रेस
थप जानकारी