नेपालका स्थानीय तह (पालिकाहरु)को समाचारलाई प्राथमिकताकोसाथ समाचार प्रकाशन गर्दै आएको पालिका प्रेस डटकमले मकवानपुरको दशवटै पालिकासंग सूचना माग गरेको छ । पालिका प्रेसले जिल्लाका स्थानीय तहहहरुसंग आर्थिक वर्ष २०७८/०७९ को स्रोतगत आम्दानी खर्च र क्षेत्रगत आम्दानी खर्चको विवरण माग गरेको हो । पालिका प्रेस डटकमले मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका, भिमफेदी, मकवानपुरगढी, बागमती, बकैया, मनहरी, कैलाश र राक्सिराङ गाउँपालिकासंग इमेल मार्फत पत्राचार गरी सूचना माग गरेको हो ।

पालिकाहरुले आर्थिक वर्ष सम्पन्न भएपछि स्थानीय तहहरुले बजेट कार्यान्वयन वार्षिक समिक्षा गर्नुपर्ने भएपनि उक्त कार्य संचार माध्यममा नआएकोले उक्त विवरण सञ्चार प्रयोजनका लागि माग गरेको जनाइएको छ । नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३ र ७ बमोजिम मकवानपुरका पालिकाहरुको सूचना माग गरिएको छ । सूचना माग गरिएको पत्रमा भनिएको छ–‘आर्थिक वर्ष २०७८/०७९ को स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (सुत्र) को आम्दानी खर्च खुल्ने विनियोजन रेखाङ्कनको वार्षिक आयव्ययको प्रतिवेदन (चालु र पुँजीगत खुल्ने) र क्षेत्रगत बजेट तथा खर्च (प्रतिवेदन) सञ्चार प्रयोजनका लागि इमेल मार्फत प्रमाणित गरी उपलब्ध गराइदिनुहुन अनुरोध छ ।’

सूचनाको हक सम्बन्धी ऐन बमोजिम पालिकाहरुले सूचना उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था छ । सुचना माग गरिएको पत्रको बोधार्थ राष्ट्रिय सुचना आयोगलाई समेत दिइएको छ ।

वार्षिक समिक्षा गर्नुपर्ने व्यवस्था प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८ को दफा ५ को उपदफा (१) को सूचकसंग सम्बन्धीत छ ।