आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई केन्द्रित गर्दै कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको लोकतान्त्रिक बाम गठबन्धनले मकवानपुरको थाहा नगरपालिकामा वृहत कार्यकर्ता भेलाको आयोजना गरेको छ ।

आइतबार थाहा नगरपालिकामा गठबन्धन दलतर्फका सबै उम्मेदवारको सहभागितामा अगुवा कार्यकर्ता भेलाको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै गठबन्धन दल नेकपा एकीकृत समाजवादीकातर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडाले एमालेको प्रतिगमनविरुद्ध भएको गठबन्धनले मकवानपुरको ६ वटै सिट जित्नेमा ढुक्क हुन सबैमा आग्रह गरे । एमाले सरकारमा हुँदा जनताको पक्षमा कुनै काम हुन नसकेको भन्दै बरु भ्रष्टाचार र बेथितिको चाँङ बनेको उनले बताए ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नम्बर २ ९ख० बाट प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले संविधान, गणतन्त्र, धर्मनिरपेक्षताको रक्षा र ब्यवस्था बचाउनको लागि अहिलेको गठबन्धन बनेको बताए । केपी ओलीको अराजकता, उदण्डता, भ्रष्टाचार, राजतन्त्रको पुनःस्थापन रोक्न आगामी निर्वाचन निर्णायक हुने पनि उनले बताए । १९ दिने जनआन्दोलन दबाउने, परिवर्तन विरोध कमल थापा र देश टुक्र्याउँछु भन्ने सिके राउतसँग मिलेमतो गरेर चुनावमा होमिएकाले एमालेले झनै जनताको विश्वास गुमाएको उनको तर्क थियो ।

नेकपा माओवादीकातर्फबाट मकवानपुर क्षेत्र नम्बर २ क मा उम्मेदवार बनेकी कुमारी मोक्तानले गठबन्धनको भावनालाई आत्मसात गरी परिवर्तन पक्षधर उम्मेदवारलाई विजयी बनाउन सबैमा आग्रह गरिन् । एमालेले जितेमा मुलुक फेरि पछाडि धकेलिने स्पष्ट भएको भन्दै गठबन्धनभित्र हिजोका केही त्रुटी कमजोरी भएको भए पनि त्यसलाई मनमा नलिई प्रतिवद्ध भएर मतदान गर्न उनले सबैमा अनुरोध गरिन् ।

नेकपा माओवादी केन्द्र थाहा नगरपालिका अध्यक्ष विनोद लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस थाहा नगर सभापति प्रमोदकृष्ण जोशी, राष्ट्रिय जनमोर्चाका सचिव दिनेश विष्ट, कांग्रेस महासमिति सदस्यद्वय जयराम लामिछाने र उमा दाहाल, कांग्रेस मकवानपुर सभापति एवं लोकतान्त्रिक बाम गठबन्धन परिचालन समिति जिल्ला संयोजक बुद्ध लामा, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सोनामसिं स्याङतान, माओवादी केन्द्रका केन्द्रीय सदस्य रामनारायण विडारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

पालिका प्रेस
थप जानकारी