हेटौंडा उपमहानगरपालिकाका धेरै ठुला होस या साना पसलहरुमा पनि सिस्नु खरिद गर्न पाइन थालेको छ । हेटौंडाको मुख्य बजारका किराना पसलहरुमा सिस्नु पाउन थालिएको हो । जिल्लाका ग्रामिण भेगका किसानहरुले बिक्री गर्न ल्याउने र यहाँका वासिन्दाहरुले खरिद गर्ने भएकाले यसको माग पनि बढेको व्यावसायीहरु वताउँछन् । गरिबको खाना भनेर उपेक्षित मकवानपुर जिल्लाको गाउँ गाउँमा पाइने सिस्नु हिजोआज हेटौंडाका सहरिया तथा धनीका भान्सामा पाक्न थालेको छ ।

खासगरी डाइबिटिज (मधुमेह) का बिरामीले खोजीखोजी खान थालेपछि बहुउपयोगी जंगली वनस्पति सिस्नुको माग बढेको हो । होटल, रेस्टुराँको मेनुमा सिस्नु परिकार थपिएका छन् । मकवानपुरका गाउँ क्षेत्रमा बाटोको किनारा, खेतबारी र जंगलमा खेर गइरहेको स्वास्थ्यवर्द्धक सिस्नु यतिबेला स्थानीयको आम्दानीको राम्रो स्रोतसमेत बनेको छ । कात्तिक सुरुदेखि सिस्नु टिप्ने ‘पिक सिजन’ सुरु भएसँगै लेकाली बस्तीमा यसको पाउडर उत्पादन गर्ने मात्र नभई प्रायः ग्रामीण बस्तीका गृहिणीहरू चिम्टा र डालो बोकेर खेतबारी र जंगल–जंगल चहार्न थालेका छन् ।

सिस्नुको कलिलो मुन्टा र फूल खाने गरिन्छ । कलिलो सिस्नुको मुन्टा राम्रोसँग पखालेको गहिरो भाँडोमा राखेर नुन हालेर पकाइन्छ । राम्ररी पाकेपछि डाडुले बिस्तारै घोटिन्छ र लेदो बनाइन्छ । टिमुर, लसुन, प्याज र मसला राखी तातोपानी हालेर केहीबेर पकाएपछि सिस्नु सुप तयार हुन्छ । सिस्नु ठूलो हुँदा साना दानादार भई फुल्छ । त्यही फूल टिपेर ल्याएपछि घाममा सुकाई धुलो बनाइन्छ । हिलोआज सिस्नुका कलिला मुन्टा सुकाएर धुलो बनाई प्रयोग गर्ने चलन पनि बढेको छ ।

सिस्नुमा औषधीय गुण हुने भएकाले पछिल्लो समय सहरी उपभोक्ताको आकर्षण बढेको हो । सिस्नु मधुमेह र मुटुरोगका बिरामीले बढी खोज्ने गरेका छन् । सिस्नुमा भिटामिन, आइरनलगायतका तत्त्व प्रशस्त पाइने भएकाले गर्भवतीका लागि पनि उपयुक्त हुन्छ । ‘परिवारमा अर्को आम्दानी छैन, ३ वर्षदेखि यही सिस्नुको व्यवसायले ६ जनाको परिवार चलेको छ, बचेको पैसाले घरबारी पनि किनें,’ मकवानपुरगढी गाउँपालिकाकी सिता घिमिरेले भनिन् ।

सिस्नुको माग बढेपछि जिल्लाको ग्रामीण महिलाको फुर्सदको व्यवसाय र अतिरिक्त आम्दानीको स्रोत भएको छ । सहरका धेरैको भान्सामा सिस्नु पाक्न थालेपछि सदरमुकाममा सिस्नु, गुन्द्रुक, धजरा, सिमीसमेत रैथाने खाद्यान्न बेच्ने पसल नै खुलेका छन् । सहरका डिपार्टमेन्ट स्टोरमा समेत सिस्नु पाउडर उपलब्ध हुन थालेको छ । ‘सिस्नुको माग बढ्दो छ । बेनीमा रैथाने खाद्यवस्तु बेच्ने धेरै छन् ।

पालिका प्रेस
थप जानकारी