दक्षिणि धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ माथिल्लो ओर्वाङको चेपाङ बस्तीमा खानेपानी प्रणालीे विस्तारको उद्घाटन तथा हस्तान्तरण गरिएको छ । फोकस नेपाल र अक्सफामको सहयोगमा सञ्चालित खानेपानीको लागि बैकल्पिक व्यवस्थापन मोडेल परियोजना र गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न भएको खानेपानी प्रणाली विस्तारको आज एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष जीतबहादुर प्रजाको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ को प्रमुख आतिथ्य रहेको थियो । ५१ घरधुरी चेपाङ वस्तीका एक घर, एक धारा खानेपानी प्रणालीको विस्तारको आज गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ले धाराको पानी खोलेर उद्घाटन गर्नुभएको हो ।

खानेपानी प्रणालीको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ ले परियोजनाले गाउँपालिकामा खानेपानीको पद्धतीलाई विकास गर्न महत्वपूर्ण भुमिका खेलेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । गाउँपालिकाका सबै घर धुरीमा ३ वर्षभित्र एक घर, एक धारा नितिलाई विस्तार गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

यस्तै खानेपानी उपभोक्ता समितिका अध्यक्ष प्रजाले घरमै खानेपानी आउन थालेपछि खुशी हुँदै सपना पुरा भएको बताउनुभयो । ओर्वाङ जस्तो ठाउँमा खानेपानीको समस्या समाधान भएको भन्दै खानेपानी दिगो विकासको लागि सबैले ध्यान दिनुपर्ने बताउनुभयो । गाउँपालिकाको ३ लाख ७९ हजार, फोकस नेपालको ४ लाख ५ हजार र ४ लाख ५६ हजार जनश्रमदान गरि १३ लाख ३९ हजारमा खानेपानी प्रणालीको मर्मत सुधार गरिएको हो ।

खानेपानी विस्तारबाट ५१ घरधुरीका ३ सय जना लाभाविन्त भएका छन् । ३ किलोमिटर तल गोमती खोलाबाट लिफ्टीङ प्रविधिबाट विस्तार गरिएको खोपानीको मर्मत तथा सुधार गर्दै उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको फोकस नेपालका व्यवसायी विकास अधिकृत उमेश कंडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष टापबहादुर श्रेष्ठ, वडा अध्यक्ष भुवन त्रिपाठी, नेपाली कांग्रेस बेनिघाट रोराङ गाउँपालिका समितिका सभापति ऋषिनाथ त्रिपाठी, नेकपा माओवादी केन्द्र कमिटिका अध्यक्ष राजेन्द्र प्रसाद कंडेल, बेनिघाट रोराङ ग्रामीण खानेपानी बोर्डको कार्यकारी समितिको सदस्य गोबिन्द कडेल, फोकस नेपालका कार्यकारी निर्देशक एकराज छत्कुली, अक्सफाम नेपालका मान बहादुर धना मगर र विजय थापा लगायत स्थानियहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन फोकस नेपालका कार्यक्रम संयोजक प्रकाश न्यौपानेले गर्नुभएको थियो ।

पालिका प्रेस
थप जानकारी