राष्ट्रिय दलित आयोगको आयोजना तथा थाहा नगरपालिका मकवानपुरको समन्वयमा स्थानीय तहमा दलित लक्षित कार्यक्रम तथा सेवा प्रवाहको सम्बन्धमा अन्तरक्रिया भएको छ । २५ मंसिरमा भएको कार्यक्रम नगर प्रमुख विष्णु बहादुर विष्टको सभाध्यक्षतामा भएको थियो ।

राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा थाहानगर उपप्रमुखको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा आयोगका प्रवक्ता समेत रहेका पुर्कुटीले थाहा नगरपालिकाले दलित लक्षित गरेर संचालन भएको कार्यक्रमको प्रशंसा गरे । उनले पालिकाले संचालन गरेको आयआर्जनका कार्यक्रमहरु, दलित उच्च शिक्षा छात्रवृत्तिलगायतको कार्यक्रम अन्य पालिकाले पनि सिक्नुपर्ने बताए । पुर्कुटीले दलित तथ्याङ्क प्रोफाइल निर्माण गरी योजना तर्जुमा र अन्य निर्णायक तहमा कानूनले दिएभन्दा बढि सहभागिता गराउन सुझाव दिए । उनले भने–‘कानूनले तोकेको काम त तपाइहरु गर्नु नै हुन्छ, त्यो भन्दा बढि सहभागिता गराएर बढि बजेट विनियोजन गरी कार्यक्रम सम्पन्न गर्न बाधा पर्दैन ।’

कार्यक्रममा नगर प्रमुख विष्ट तथा उपप्रमुख भरत गोपालीले नगरपालिकाले दलित लक्षित कार्यक्रम संचालन गरिरहेको र थप अझ प्रभावकारी कार्यक्रमहरु संचालन गर्ने योजना सुनाए । सो अवसरमा प्रमुख विष्टले संवैधानिक अधिकारलाई पालिकाले अधिक्तम प्रयोग गरी लक्षित समुदायको सहभागिता र विषयमा ध्यान दिएर कार्यक्रम संचालन गरिरहेको बताए । उनले दलित समुदाय थप आफै चनाखो हुन आवश्यक रहेको औल्याए ।

कार्यक्रममा थाहा नगरपालिकाका सामाजिक विकास अधिकृत अनिल लामिछाने, सूचना अधिकारी सुरज कुमार भुजेल, सुशासन तथा संस्थागत विकास समितिका संयोजक विष्णु बहादुर गुरुङ, थाहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझी, वडा नम्बर ४ का अध्यक्ष नारायण लामा तथा विभिन्न वडाका दलित महिला सदस्यहरुको उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी