भरतपुर महानगरपालिकाले महानगरभित्र स्थायी बसोबास गरेका ७२ जना छोरीको जीवन बीमा गरेको छ । महानगरपालिकाले विसं २०७९ जेठ ११ गतेको निर्णयअनुसार महानगरभित्र जन्मिएका छोरीको बीमा गरेको हो ।

भरतपुर महानगरपालिकाभित्र स्थायी वसोबास गर्ने र स्वास्थ्य संस्थामा जन्म भएका बच्चाको बीमा गरिएको हो । महानगर र राष्ट्रिय बीमा संस्थानको सहकार्यमा उनीहरुको बीमा गरिएको महिला विकास अधिकृत शान्ता पौडेलले जानकारी दिइन्। “बाल उमङ्ग बीमालेख” हस्तान्तरण कार्यक्रमको आयोजना गरी आज छोरीका अभिभावकलाई बिमित प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

महानगरमा परेका १५३ वटा निवेदनमध्ये प्रक्रिया पूरा गरेका उनीहरुलाई पहिलो चरणमा बीमा गरिएको हो । अन्यसमेतको प्रक्रिया पूरा गरी बीमा गरिने सो अवसरमा जानकारी दिइयो ।

बीमा संस्थानले कात्तिक २ गते बीमा नीति जारी गरेको भए पनि निर्वाचन आचार संहिताका कारण वितरण गर्न बाँकी रहेको थियो । बाल उमङ्ग जीवन बीमा कार्यक्रम अन्तर्गत महानगरपालिकाले १५ वर्षका लागि छोरीको प्रिमियर बुझाउने छ । महानगरले प्रिमियम रकम रु ५० हजार बुझाउने छ भने १५ वर्षपछि छोरीहरुले रु एक लाख पाउने छन् ।

बीमित प्रमाणपत्र महानगर प्रमुख रेनु दाहालले छोरीको भु्रण हत्या गर्ने र जन्मदर्ता नगर्ने परिपाटिको अन्त्यका लागि महानगरले यो कार्यक्रम लागू गरेको बताइन ।

छोरीले पनि अवसर पाए काम गरेर देखाउन सक्ने भन्दै उहाँले यो बीमाले छोरीको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन । आफू दोस्रो पटक महानगर प्रमुखमा बिजयी भएसँगै पदबहालीका क्रममा आफुले गरेको निर्णय कार्यान्वयनमा आएको भन्दै उनले खुशी व्यक्त गरिन ।

कार्यक्रममा भरतपुर महानगरपालिका–१० का वडा अध्यक्ष परमेश्वर खनालले छोरी बीमा कार्यक्रम प्रभावकारी हुने बताए । छोरीको महत्व बुझाउन र समाजलाई परिवर्तन गर्न यो कार्य फलदायी बन्ने उनको भनाइ छ ।

पालिका प्रेस
थप जानकारी