दाङको राप्ती गाउँपालिका– २, कठाहा गाउँमा थारु समुदायको बस्ती छ । ती समुदायमा रहेका विपन्न परिवारका जेष्ठ नागरिकहरुले ओढ्ने गतिलो सिरक छैन । पुस महिनाको जाँडो छल्न उनीहरु आगो तापेर शरीर न्यानो बनाउने गर्छन् । यसरी नै वर्षौं बिताएका उनीहरु शुक्रबार भने निक्कै खुशी देखिन्थे । राप्ती गाउँपालिका वडा नम्बर २ ले शुक्रवार वडाबाटै जेष्ठ नागरिकहरुलाई न्यानो सिरक प्रदान गरेपछि उनीहरु खुसी भएका हुन् । राप्ती गाउँपालिका २ कठाहाका ७९ वर्षिय बच्चुलाल चौधरी वडा कार्यालयबाट न्यानो सिरक पाएपछि निकै खुसी देखिए ।

घरमा ओढ्ने गतिलो सिरक थिएन “रातभर पराल र दाउराको आगो तापेर रात बिताउँथे, आज देखि सिरक ओढेर सुत्छु उनले भने”, त्यस्तै सोही वडाकै एकतानगरमा बस्दै आएकी ७९ वर्षीया सुन्तली कुमाल पनि सिरिक पाएपछि खुशी हुँदै भनिन्, कपडा किनेर शरीर ढाक्न नसक्ने अवस्थामा वडाले न्यानो ओड्ने सिरक दिएको छ, यसैमा म खुशी छु उनले भनिन् । उनीहरु जस्तै अन्य जेष्ठ नागरिकहरु पनि न्यानो सिरक पाउँदा निकै खुसी भएका छन् ।

वडा कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत १ लाख १९ हजार ५ सय ८० रुपैयाँ बराबरको रकमबाट २७ जना विपन्न जेष्ठ नागरिकहरुलाई एक एक थान न्यानो सिरक वितरण गरिएको छ । वडा कार्यालयले शुक्रबार वडा कार्यालय बराखुट्टीमा एक कार्यक्रमको आयोजना गरि वडामा बस्ने ७७ देखि ७९ वर्ष उमेर समूहका विपन्न जेष्ठ नागरिकहरुलाई सिरक प्रदान गरेको हो । वडामा रहेका विपन्न जेष्ठ नागरिकहरुलाई चिसोबाट बच्न न्यानो सिरक वितरण गरिएको वडा अध्यक्ष पहलमान चौधरी (अनुप)ले जानकारी दिएका छन् ।

पालिका प्रेस
थप जानकारी