मकवानपुर थाहा नगरस्तरीय अन्तर वडा फुटबल प्रतियोगितामा ९ नम्बर वडा च्याम्पियन बनेको छ । थाहा नगरपालिका वडा नम्बर ९ ले वडा नम्बर ४ लाई १–० गोल अन्तरले पछिपार्दै उपाधि चुमेको हो ।

उपाधि चुमेसंगै ९ नम्बर वडाले नगद ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ । उपविजेता थाहा नगरपालिका वडा नम्बर ४ ले नगद १५ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ । वडा नम्बर २ र ३ ले सान्त्वनाको रुपमा नगद ५÷५ हजार रुपियाँ पुरस्कार पाएका छन् । प्रतियोगितामा थाहा नगरपालिका वडा नम्बर ९ का गोल रक्षक रुपेश बलामी उत्कृष्ट गोल रक्षक घोषित हुँदा ९ नम्बर वडाकै सरोज रेग्मी सर्वाधिक गोलकर्ता घोषित भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी भने वडा नम्बर ४ का सुजन पाख्रिन घोषित भए । उनीहरुलाई ट्रफी पाएका छन् ।

  प्रतियोगिताको विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई थाहानगर प्रमुख विष्णु विष्टले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । थाहा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष तथा थाहानगर खेलकुद विकास समितिका सदस्य राजकुमार बलामीको सभाध्यक्षतामा भएको पुरस्कार वितरण तथा समापन कार्यक्रमको विशेष अतिथी नगर उपप्रमुख भरत गोपाली रहेका थिए । कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष हेरमान गोपाली, वडा नम्बर ४ का अध्यक्ष नारायण लामा, थाहा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, नगर खेलकुद विकास समितिका सदस्य यादवजंग रायमाझी, बच्चुराम केसीलगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रमको विजेता तथा उपविजेताहरुलाई अतिथीहरुले बधाई दिएका थिए ।

५ पुसबाट शुरु भएको प्रतियोगितामा वडा नम्बर ५ ले टिम दर्ता नै गरेन भने वडा नम्बर ८ टिम दर्ता गरेपनि प्रतियोगितामा सहभागी नभएपछि १२ मध्ये १० वटा मात्र वडाको टिम प्रतियोगितामा सहभागी भएको खेलकुद विकास समिति थाहानगरका सदस्य यादवजंग रायमाझीले जानकारी दिए ।
स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गर्दै यहि २६ पुसबाट थाहानगरमा संचालन हुने थाहा गोल्डकपका लागि खेलाडी छनोटका लागि वार्षिक क्यालेण्डर अनुसार प्रतियोगिताको आयोजना गरिएको थाहा नगरपालिका सामाजिक विकास अधिकृत अनिल लामिछानेले जानकारी दिए ।

 

पालिका प्रेस
थप जानकारी