मकवानपुरको थाहा नगरपालिकामा संचालन भएको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जनकल्याण माविले हात पारेको छ । थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको जनकल्याण माविले १५ स्वर्ण, ९ रजत र ५ कास्य पदक सहित राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पारेको हो । जनकल्याण साविक विजेता विद्यालय हो ।

प्रतियोगितामा १५ स्वर्ण, ९ रजत, ५ कास्य सहित प्रथम, ५ स्वर्ण, ३ रजत र ४ कास्यसहित सुनौला मावि दोश्रो तथा ४ स्वर्ण, ४ रजत २ कास्यसहित बज्रवाराही मावि तेश्रो भएका हुन् । झम्केश्वरी माविले ४ स्वर्ण, २ रजत र ४ कास्य पदक प्राप्त गरेको छ । नाट्यश्वर माविले ३ स्वर्ण, २ रजत सहित ३ कास्य, स्वच्छन्दभैरव माविले ३ स्वर्ण, १ रजत, ५ कास्य, बागेश्वरी माविले १ स्वर्ण, ९ रजत, ८ कास्य, मत्स्यनारायण माविले १ स्वर्ण, ३ रजत, १ कास्य, इअन एकेडेमीले १ स्वर्ण, १ रजत १ कास्य, सुन्दरीदेवी माविले १ स्वर्ण, १ रजत, इन्द्रायणी माविले १ रजत १ कास्य पदक प्राप्त गर्दा सरस्वती विद्या मन्दिर, पालुङ भ्याली हार्ट र सरस्वती माविले कुनै पदक प्राप्त गर्न सकेनन् ।

जनकल्याण माविले एथलेटिक्सतर्फ प्रथम स्थान हासिल गर्दा कराते विधामा पनि प्रथम स्थान हासिल गर्यो। त्यस्तै एथलेटिक्सतर्फ नै सुनौला मावि दोश्रो तथा झम्केश्वरी मावि तेश्रो भए । करातेतर्फ बज्रवाराही मावि दोश्रो तथा स्वच्छन्दभैरव मावि तेश्रो भए भने छात्रा कबडी तर्फ जनकल्याण मावि प्रथम, मत्स्यनारायण मावि दोश्रो तथा इन्द्रायणी मावि र स्वच्छन्द भैरव मावि तेश्रो भए । छात्र कबड्डीतर्फ बज्रवाराही मावि प्रथम, इन्द्रायणी मावि दोश्रो र स्वच्छन्द भैरव मावि र बागेश्वरी मावि तेश्रो भए।

थाहानगरको बज्रवाराही माविमै भएको पाँचौं संस्करणको मेयरकप भलिबल प्रतियोगिताको उपाधी स्वच्छन्दभैरव माविले हात पारेको छ । स्वच्छन्दले फाइनलमा जनकल्याण माविलाई पराजित गर्दै उपाधी हात पारेको हो। भलिबलमा जनकल्याण दोश्रो हुँदा मत्स्यनारायण माविले तेश्रो स्थान हातपार्यो। छात्र भलिबल तर्फ स्वच्छन्दका इनेश बलामी वेस्ट स्पाइकर, स्वच्छन्दकै प्रवीण बलामी बेस्ट लिफ्टर घोषणा हुँदा जनकल्याणका सुदिप तामाङ वेस्ट डिफेन्डर बन्न सफल भए । त्यसैगरी छात्रा भलिबल तर्फको उपाधी मत्स्यनारायण माविले जित निकाल्दा सुन्दरीदेवी माविले उपविजेतामा चित्त बुझाउनु पर्यो । प्रतियोगितामा जनकल्याण माविले तेश्रो स्थान हातपार्यो छात्रा भलिबलमा मत्स्यनारायण माविकी छात्राहरु वेस्ट प्लेयर निशा स्याङ्तान, वेस्ट स्पाइकर रेविका स्याङ्तान र बेस्ट सेटर बिना घलान घोषित भइन् ।

विजेता तथा उपविजेता विद्यालय र विद्यार्थीलाई प्रमुख अतिथी थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टले शिल्ड, मेडल, प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका थिए । थाहा नगरपालिका खेलकुद विकास समिती संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा सम्पन्न समारोहमा नगर प्रमुख विष्ट, थाहा नगर शिक्षा समिति संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष राजनभक्त श्रेष्ठ, वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र रायमाझी, थाहानगर शिक्षा शाखाका अधिकृत माधवबिक्रम मल्ल, बज्रबाराही मावि व्यवस्थापन समितिका अध्यक्ष कल्पना बलामी, संस्थापक अध्यक्ष कृष्णभक्त श्रेष्ठलगायत विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, सहभागी विद्यालयका प्रधानाध्यापक, खेलाडी, खेल शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो।

समापन समारोहलाइ सम्बोधन गर्दै प्रमुख अतिथी विष्टले स्थानीयस्तरमा रहेका खेलाडीको क्षमता अभिवृद्धिका लागि नगरपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गरिएको बताए। उनले भने,–‘हामीले नगरपालिकामा रहेका खेलाडीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिका लागि प्रतियोगिता सञ्चालन गरेका हौं।’ यही पुस ८ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा नगरपालिकास्थित १४ वटा माविको सहभागिता रहेको थियो। प्रतियोगिताको व्यवस्थापन जिम्मा पाएको बज्रवाराही माविका प्रधानाध्यापक रमेशमान डंगोेलले प्रतियोगिता संचालनमा सहयोग गर्ने सम्पुर्ण खेलप्रति माया गर्नेहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

पालिका प्रेस
थप जानकारी